काठमाडौं । बिजुली महसुल तथा अन्य बक्यौता रकम नतिर्ने थप उद्योगहरूको विद्युत् लाइन काटिएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता असुली अभियान अन्तर्गत शुक्रबार थप २१ उद्योगको बिजुली तथा पानीको लाइन विच्छेद गरेको जनाएको छ।
लिमिटेडका अनुसार लाइन काटिएपछि १२ उद्योगले बक्यौता रकम बुझाएका छन्। रकम भुक्तानी गरेसँगै ती उद्योगहरूको सेवा पुनः सुचारु गरिएको छ।

यसअघि पहिलो र दोस्रो दिन लाइन काटिएका उद्योगमध्ये थप २१ उद्योगले पनि बक्यौता तिरेपछि लाइन पुनः जोडिएको लिमिटेडले जनाएको छ। यद्यपि हालसम्म ६८ उद्योगको बिजुली तथा पानी सेवा भने अझै बन्द रहेको छ।
लिमिटेडका अनुसार शुक्रबार मात्रै ३ करोड १८ लाख ६७ हजार ४ सय ९३ रुपैयाँ ७३ पैसा असुली भएको छ। हालसम्म कुल ३२ करोड ४ लाख ६२ हजार ७ सय १५ रुपैयाँ ६१ पैसा बक्यौता रकम उठाइसकिएको जनाएको छ।
देशभरका विभिन्न औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले लामो समयदेखि तिर्न बाँकी रहेको रकम नबुझाएपछि चरणबद्ध रूपमा लाइन काट्ने अभियान अघि बढाइएको लिमिटेडले जनाएको छ। बक्यौता रकम भुक्तानी गर्ने उद्योगहरूको लाइन भने तत्काल पुनः जडान गरिँदै आएको छ।










