पतिलाई अति माया गर्ने मेरी श्रीमती,

निन्द्रामा सिरानी भइदिन्छिन्,
भोकमा बिर्यानी भइदिन्छिन्,

अनि प्यासमा पानी भइदिन्छिन्।
बेलाबेलामा सोधिरहन्छिन्,
“आरामै हुनुहुन्छ?”
“काममा हुनुहुन्छ कि हजुर?”
“घरमै हुनुहुन्छ?”
पतिलाई अति माया गर्ने मेरी श्रीमती।
के भन्नु, उनी कति जाति छिन्,
एक्लोपनमा साथी छिन्,
साँच्चै मायामा त
उनी धेरै माथि छिन्।
कपडा मैलो हुन दिँदिनन्,
चोट लाग्दा रुन पनि दिँदिनन्,
साह्रै गाह्रो हुने काम
छुन पनि दिँदिनन्।
पतिलाई अति माया गर्ने मेरी श्रीमती।
बच्चाबच्चीका लागि माता हुन्,
घामपानीमा छाता हुन्,
हो, उनी त
जीवनदाता हुन्।
पतिलाई अति माया गर्ने,
मेरी श्रीमती,
मेरो वर्तमान र भविष्य हुन्,
गर्वले जिउन सक्ने
एउटा शान हुन्।
पतिलाई अति माया गर्ने मेरी श्रीमती।
श्रीराम रानाभाट पोखरा (हाल दुवई)


















