काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका अधिकांश प्रदेशमा अधिवेशन सम्पन्न गरेको भए पनि मधेश प्रदेशमा देखिएको आन्तरिक विवादका कारण अधिवेशन प्रक्रिया अझै अनिश्चित बनेको छ।
पार्टी स्रोतका अनुसार रास्वपाले हालसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मंगलबार अधिवेशन आयोजना गरिएको छ। तर प्रतिनिधि छनोट र संगठनात्मक विवादका कारण मधेश प्रदेशमा भने अधिवेशन अघि बढ्न सकेको छैन।

मधेश प्रदेशका आठ जिल्लामध्ये हालसम्म पर्सा जिल्लाको मात्र अधिवेशन सम्पन्न भएको छ। बाँकी जिल्लामा देखिएको प्रतिनिधिसम्बन्धी विवादका कारण जिल्ला अधिवेशनसमेत प्रभावित बनेको बताइएको छ।
रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले मधेश प्रदेशको अवस्था हेर्दा महाधिवेशनअघि प्रदेश अधिवेशन सम्पन्न गर्न चुनौतीपूर्ण देखिएको बताएका छन्। यद्यपि पार्टी नेतृत्वले विवाद समाधान गरी अधिवेशन सम्पन्न गराउने प्रयास जारी राखेको जनाएको छ।










