काठमाडौं । देशको पछिल्लो राजनीतिक परिवेश र संगठन सुदृढीकरणको अभियानलाई केन्द्रमा राख्दै नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चले सदस्यता नवीकरण तथा विस्तार अभियानलाई तीव्रता दिएको छ। मञ्चले डिजिटल प्रविधिमार्फत सदस्यता व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अभियानलाई युद्धस्तरमा अगाडि बढाएको जनाएको छ।
सम्पर्क मञ्चका उपसचिव तथा सदस्यता नवीकरण अभियान संयोजक भवानी लुइटेलका अनुसार आगामी असार मसान्तभित्र सदस्यता विस्तार र नवीकरणको कार्य सम्पन्न गर्ने लक्ष्यसहित नयाँ बानेश्वरस्थित मञ्चको कार्यालयबाट दैनिक रूपमा अभियान सञ्चालन भइरहेको छ। उनले संगठनलाई समयानुकूल प्रविधिमैत्री बनाउने पार्टीको नीति अनुरूप सदस्यता व्यवस्थापनलाई डिजिटल प्रणालीमा आबद्ध गरिएको जानकारी दिए।

लुइटेलका अनुसार अभियानअन्तर्गत पुराना सदस्यहरूको नवीकरणसँगै नयाँ सदस्य भित्र्याउने कार्यलाई विशेष प्राथमिकता दिइएको छ। सदस्यता सम्बन्धी सम्पूर्ण विवरणलाई डिजिटल माध्यमबाट अद्यावधिक गर्ने, नयाँ सदस्यलाई संगठनसँग जोड्ने तथा नियमित सम्पर्कमा राख्ने कामलाई व्यवस्थित ढंगले अघि बढाइएको उनले बताए।
यसैबीच नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा जनसंगठन विभाग प्रमुख विशाल भट्टराईले पार्टीलाई नयाँ ऊर्जा र नयाँ कार्यशैलीका साथ अघि बढाउने केन्द्रीय अभियान सञ्चालन भइरहेको बताए। उनले एमालेसँग आबद्ध २२ वटै जनसंगठन यतिबेला सदस्यता विस्तार तथा नवीकरण अभियानमा सक्रिय रहेको उल्लेख गर्दै संगठनको आधार मजबुत बनाउन सदस्यता अभियान महत्वपूर्ण माध्यम बनेको बताए।
“पार्टीलाई अझ गतिशील, प्रविधिमैत्री र जनतासँग प्रत्यक्ष जोडिएको संगठनका रूपमा विकास गर्ने उद्देश्यका साथ देशभर सदस्यता विस्तार र नवीकरण अभियान सञ्चालन भइरहेको छ,” भट्टराईले भने।
मञ्चका सदस्य तथा नवीकरण समितिका सदस्य राजकुमार कार्कीका अनुसार गत एक साताभित्र मात्रै ७० भन्दा बढी नयाँ सदस्य पार्टीमा आबद्ध भएका छन्। साथै पुराना सदस्यहरूको नवीकरणको दर पनि उल्लेखनीय रूपमा बढिरहेको उनले बताए। काठमाडौं उपत्यकामा बसोबास गर्ने खोटाङवासी एमाले समर्थक तथा शुभेच्छुकहरूलाई अभियानमा सहभागी गराउने कार्यलाई प्राथमिकता दिइएको उनको भनाइ छ।
अभियानलाई प्रभावकारी बनाउन भवानी लुइटेलको संयोजकत्वमा गठित सदस्यता नवीकरण समितिमा राजकुमार कार्की, सन्तोष राई, कर्ण प्रधान र उमा आचार्य सदस्य रहेका छन्। समितिका सदस्यहरूलाई दैनिक जनसम्पर्क, डिजिटल प्रविधि व्यवस्थापन, अभिलेखीकरण, कार्यालय सञ्चालन तथा सदस्यता सम्बन्धी समन्वयको जिम्मेवारी बाँडफाँट गरिएको छ।
समितिले नियमित रूपमा कार्यालय सञ्चालन गर्नुका साथै सदस्यता सम्बन्धी जिज्ञासा समाधान, नयाँ सदस्य दर्ता, पुराना सदस्यको विवरण अद्यावधिक र डिजिटल प्रणालीमा अभिलेख राख्ने कार्य गरिरहेको जनाएको छ। यसले अभियानलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउन सहयोग पुगेको मञ्चको दाबी छ।
सम्पर्क मञ्चले असार मसान्तभित्र कम्तीमा ३०० जना नयाँ सदस्य पार्टीमा आबद्ध गराउने लक्ष्य लिएको छ। सो लक्ष्य पूरा गर्न विभिन्न भेटघाट, अन्तरक्रिया, जनसम्पर्क कार्यक्रम तथा सामाजिक सञ्जालमार्फत पनि अभियान सञ्चालन भइरहेको जनाइएको छ।
संयोजक लुइटेलले काठमाडौं उपत्यकामा रहेका खोटाङवासी एमाले समर्थक, शुभेच्छुक तथा पार्टीप्रति आस्था राख्ने सबैलाई सदस्यता अभियानमा सक्रिय सहभागी हुन आग्रह गरेका छन्। उनले कुनै अन्योल वा भ्रममा नपरी सम्पर्क मञ्चसँग प्रत्यक्ष सम्पर्कमा रही अभियानलाई सफल बनाउन सहयोग गर्न अनुरोध गरे।
उनका अनुसार संगठनलाई थप चलायमान, सशक्त र जनमुखी बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको सदस्यता नवीकरण तथा विस्तार अभियानले आगामी दिनमा पार्टीको संगठनात्मक आधारलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।










