काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदैछ। नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे उद्घाटन समारोहपछि मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलसँगै प्रतियोगिताको औपचारिक शुभारम्भ हुनेछ।
यस संस्करणको विश्वकप इतिहासमै पहिलो पटक तीन राष्ट्र— Mexico, United States र Canada —ले संयुक्त रूपमा आयोजना गरेका छन्। उद्घाटन समारोह पनि पहिलोपटक एउटै सहरमा सीमित नरही Mexico City, Toronto र Los Angeles मा एकसाथ आयोजना गरिनेछ।

तीनवटै आयोजक राष्ट्रले आफ्नो संस्कृति, इतिहास र पहिचानलाई विश्वसामु प्रस्तुत गर्ने तयारी गरेका छन्। मुख्य उद्घाटन समारोह मेक्सिको सिटीस्थित Estadio Azteca मा हुनेछ, जहाँ चर्चित कलाकारहरू Shakira, Burna Boy, J Balvin र Tyla लगायतले प्रस्तुति दिने कार्यक्रम रहेको छ।
विश्वकपको इतिहासमा पहिलोपटक ४८ टोली सहभागी हुँदैछन्। यसअघि ३२ टोली सहभागी हुने प्रतियोगितामा यसपटक थप १६ राष्ट्रले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्। प्रतियोगिताभर १०४ खेल खेलाइनेछन् र ३९ दिनको प्रतिस्पर्धापछि नयाँ विश्व च्याम्पियनको टुंगो लाग्नेछ।
विश्वकप अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ गरी कुल १६ सहरमा आयोजना हुँदैछ। प्रतियोगिताको फाइनल खेल जुलाई १९ मा MetLife Stadium मा हुनेछ। उपाधि जित्ने टोलीले प्रतियोगिताभर कुल आठ खेल खेल्नुपर्नेछ।
यसअघि अमेरिकाले सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो। त्यतिबेला २४ टोली सहभागी भएका थिए र प्रतियोगितामा ५२ खेल खेलाइएको थियो। यसपटक टोली र खेल संख्या दुवै उल्लेख्य रूपमा बढेका छन्।
नेपाल र आयोजक राष्ट्रहरूबीचको समय अन्तरका कारण अधिकांश खेलहरू नेपाली समयअनुसार राति अबेर र बिहान सबेरै हुनेछन्। खेलहरू राति १२ः४५, १ः००, २ः०० बजेदेखि सुरु हुनेछन् भने केही खेल बिहान ४ः४५, ५ः४५ र ७ः४५ बजे खेलाइने तालिका छ।
नेपालमा विश्वकपका सबै खेलहरू हिमालयन स्पोर्ट्स टेलिभिजन र डिएगो एपमार्फत प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ। प्रसारण हेर्नका लागि निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
मेक्सिको सिटीदेखि टोरन्टो र लस एन्जलससम्म फैलिएको यो प्रतियोगितालाई विश्वकप फुटबलको नयाँ युगको सुरुआतका रूपमा हेरिएको छ, जहाँ सहभागी टोली संख्या, खेल संख्या र आयोजनाको स्वरूप सबै नयाँ ढाँचामा प्रस्तुत हुँदैछन्।










