काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालै सम्पन्न तीनदिने भारत भ्रमण नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन फलदायी भएको बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले भ्रमणका क्रममा भारतका विदेशमन्त्री एस जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता भएको जानकारी दिए।

उनले उक्त भेटघाटका क्रममा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रभावकारी, परिणाममुखी र विश्वासिलो बनाउने विषयमा विस्तृत छलफल भएको बताए। दुई देशबीच आपसी हित, सहकार्य र साझेदारीका विविध क्षेत्रलाई थप मजबुत बनाउने विषयमा सकारात्मक संवाद भएको उनको भनाइ थियो।
मन्त्री खनालले भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि दुवै देशबीचको सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने दिशामा पहल जारी रहने बताए।



















