काठमाडौँ । सर्वोच्च अदालतले पहिलो पटक इजलासमा भएको सुनुवाइको प्रत्यक्ष प्रसारणको परीक्षण गरेको छ। प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा भएको सुनुवाइलाई भिडियो माध्यम ‘यु–ट्युब’ मार्फत प्रत्यक्ष प्रसारण गरेको हो।
प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिसमक्ष पेस गरेको कार्ययोजना अनुरूप अदालतको सुनुवाइ प्रत्यक्ष प्रसारणको परीक्षण गर्ने काम सम्पन्न भएको सर्वोच्च प्रशासनले जनाएको छ ।

‘ट्रायल लाइभ स्ट्रिमिङ’ परीक्षण सफल भए पनि आगामी दिनमा यसलाई नियमित बनाउँदा गोपनीयताको हक, संवेदनशील मुद्दाहरू (जस्तै: बलात्कार, घरेलु हिंसा वा नाबालक जोडिएका मुद्दा) को प्रसारण गर्ने वा नगर्ने मापदण्ड र प्राविधिक सुरक्षाका चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक देखिन्छ। अदालतले यो विषयमा एउटा स्पष्ट मापदण्ड बनाएर लाइभ स्ट्रिमिङ अगाडी बढाउने कार्ययोजना बनाइरहेको छ।










