काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमार्फत निर्वाचित सम्पूर्ण जिल्ला कार्यसमितिलाई पार्टीले बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको छ। जिल्लास्तरमा नयाँ नेतृत्व चयन भएसँगै बागमती प्रदेशमा रास्वपाको संगठन विस्तार र सुदृढीकरण अभियानले थप गति लिएको छ।
सम्पन्न अधिवेशनबाट काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल तथा मकवानपुरमा सन्जिव पाठक जिल्ला सभापतिमा निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनसँगै सम्बन्धित जिल्लाहरूमा पार्टीको संगठनात्मक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।

रास्वपाले जिल्लास्तरमा सक्षम र जिम्मेवार नेतृत्व स्थापना गर्दै संगठनलाई जनतामाझ थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ। नवनिर्वाचित नेतृत्वले पार्टीका नीति, सिद्धान्त र कार्यक्रमलाई स्थानीय तहसम्म पुर्याउँदै संगठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।
बागमती प्रदेशका चितवन, रसुवा र ललितपुर जिल्लामा आज अधिवेशन हुँदैछ। यता, सिन्धुपाल्चोकमा हिजो सुरु भएको जिल्ला अधिवेशन भने विविध कारणले स्थगित भएको जनाइएको छ। बाँकी जिल्लाहरूको अधिवेशन सम्पन्न भएसँगै बागमती प्रदेशमा रास्वपाको जिल्ला संरचना निर्माण प्रक्रिया लगभग पूर्ण हुने अपेक्षा गरिएको छ।










