काठमाडौं । विभिन्न १३ राष्ट्रिय कराँते संघहरूले आफ्नो संघहरूको रिनु प्रक्रिया लामो समयदेखि रोकिएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहेता समक्ष संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् ।
विभिन्न राष्ट्रिय संघका प्रतिनिधि, पूर्व राष्ट्रिय खेलाडी, सिनियर गुरु, सक्रिय खेलाडी तथा पदाधिकारीसहित करिब ४० देखि ५० जनाको टोली राखेपामा पुगेर लिखित तथा मौखिक रूपमा ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्रमार्फत संघहरूले केही कराँते संघहरूले “हामी मात्र आधिकारिक हौँ” भन्ने भ्रम फैलाउँदै अन्य संघहरूको अस्तित्व कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । उनीहरूले आफूहरू वर्षौंदेखि कराँते क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै राष्ट्रिय रूपमा दर्ता भएका सबै संघहरूको समान रूपमा रिनु हुनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिहरूले विभिन्न संघहरूको आफ्नै अन्तर्राष्ट्रिय हेडक्वार्टर रहेको स्पष्ट पार्दै केही संघ जापान, केही कोरिया तथा केही अमेरिका आधारित अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध रहेको बताएका छन् । कराँतेका शैली, काटा तथा प्रशिक्षण प्रणाली नै फरक भएकाले सबै संघलाई एउटै संरचनाभित्र समेट्न नमिल्ने उनीहरूको तर्क थियो ।
“हामीले कानूनी रूपमा दर्ता गरेका संघहरूलाई अहिले आएर रिनु नगरिनु अन्याय हो,” प्रतिनिधिहरूले बताएका छन् ।
ज्ञापनपत्र बुझाउने संघहरूमा नेपाल सोतोकान कराँते संघ, नेपाल निहोन सोतोकान कराँते संघ, सोतोकान कराँते डो संघ नेपाल, हायसी हाव कराँते डो संघ नेपाल, आई डब्लु एफ एन कराँते डो संघ, युनिज शिरोई शिशी रिथी कराते नेपाल तथा अन्तर्राष्ट्रिय मार्शल आर्ट्स संघ नेपाललगायत १३ वटा संघ रहेका छन् ।
भेटघाटका क्रममा विभिन्न संघका सिनियर गुरुहरूले कानूनी तथा विधिसम्मत रूपमा सबै संघहरूको रिनु प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
राखेप सदस्य सचिव मेहेताले पनि विषयलाई कानूनी तथा विधिसम्मत ढंगबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको सहभागीहरूले बताएका छन् । प्रतिनिधिहरूले खेलकुद क्षेत्रमा देखिएको अन्योलता अन्त्य गर्न छिटोभन्दा छिटो सबै संघहरूको रिनु प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।










