काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कामाथि गैरकानुनी सम्पत्ति आर्जनको आशंकामा अनुसन्धान तीव्र पारेको छ । आयोग स्रोतका अनुसार खड्कासँग चलनचल्तीको मूल्यअनुसार एक अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति भेटिएको छ, जसको ठूलो हिस्सा सम्बन्धमा स्पष्ट स्रोत खुल्न सकेको छैन ।
खड्कामाथि हाल गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागले समेत उनको सम्पत्तिको स्रोतबारे समानान्तर अनुसन्धान गरिरहेका छन् । पूर्वमन्त्रीको हैसियतका कारण भ्रष्टाचार निवारण ऐनअन्तर्गत अनुसन्धान प्रभावकारी हुने निष्कर्षसहित अख्तियारले छानबिनलाई प्राथमिकतामा राखेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार आयोगले खड्काको सम्पत्ति विवरण विश्लेषण गर्दै बयान लिन सुरु गरिसकेको छ । अनुसन्धानलाई तीव्र बनाउँदै जेठभित्रै मुद्दा दायर गर्ने तयारी भइरहेको जनाइएको छ ।

जेन–जी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित खड्काको निवासमा ठूलो मात्रामा नगद भेटिएको विवरण सार्वजनिक भएपछि उनी विभिन्न सरकारी निकायको निगरानीमा परेका थिए । गत १५ चैतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो । तर पक्राउ प्रक्रिया कानुनसम्मत नरहेको ठहर गर्दै सर्वोच्च अदालतले ३ वैशाखमा बन्दी प्रत्यक्षीकरण रिटमा उनलाई रिहा गर्न आदेश दिएको थियो ।
संखुवासभाका स्थायी बासिन्दा खड्का व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा आएका नेता हुन् । जलविद्युत्, होटललगायत विभिन्न क्षेत्रमा उनको लगानी रहेको बताइन्छ । लाजिम्पाटस्थित नेपाल स्काउटको जग्गा लिज विवादमा समेत उनको नाम जोडिएको थियो ।
आयोग स्रोतका अनुसार व्यवसायबाट कर तिरेर आर्जन गरेको आम्दानीभन्दा धेरै परिमाणमा स्रोत नखुलेको सम्पत्ति फेला परेको छ । आफन्त र निकट सहयोगीहरूको नाममा राखिएका सम्पत्तिबारे पनि अनुसन्धान भइरहेको जनाइएको छ ।
यसैबीच, अनुसन्धानका क्रममा एक जापानी नागरिकको ठूलो रकम प्रभावको आडमा हिनामिना गरिएको आशंकासमेत खुलेको अख्तियार स्रोतले जनाएको छ । ती विदेशी नागरिकले विभिन्न निकायमा उजुरी दिए पनि प्रभावकारी अनुसन्धान नभएको दाबी स्रोतको छ ।
खड्कासँगै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि पनि सात महिनाअघि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको बताइएको छ । उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भए पनि हाल विदेशमा रहेका कारण नेपाल ल्याउने प्रयास सफल हुन नसकेको स्रोतको दाबी छ ।










