काठमाडौं । श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य मन्दिरा मोक्तान ले देशभरका सुकुम्बासीहरुलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै उनले सुकुम्बासीहरुकाे अधिकारका लागि सुरु भएको आन्दोलनलाई व्यापक बनाउनु आवश्यक रहेको बताएकी छन्। उनले सबै सुकुम्बासीहरु एक ठाउँमा उभिन आग्रह गर्दै आन्दोलनलाई अझ सशक्त बनाउने र त्यसकाे नेतृत्व श्रम संस्कृति पार्टीले लिने स्पष्ट पारिन्।
मोक्तानले आफ्नो सन्देशमा “ सबै सुकुम्बासीहरुलाई एक बनाएर अघि बढ्नुस्, अब अरुको भर छैन” भन्ने भाव व्यक्त गर्दै सुकुम्बासीहरूलाई एकिकृत र संगठित बन्न आग्रह गरेकी छन्। उनले देशका विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी बस्तिकाहरूले आफ्ना हकअधिकार सुनिश्चित गर्न एकीकृत आवाज उठाउनुपर्नेमा जोड दिइन्। साथै, आन्दोलनलाई सफल बनाउन जनस्तरको सहभागिता अपरिहार्य रहेको उनको भनाइ छ।

श्रम संस्कृति पार्टीले लामो समयदेखि श्रमको सम्मान र श्रमिकको जीवनस्तर उकास्ने मुद्दालाई प्राथमिकतामा राख्दै आएको छ, ती श्रमिकहरु सुकुम्बासी बस्तिकाहरु पनि रहेकाे हुनाले बालेन सरकारकाे डाेजर आतंककारीको प्रतिवाद केवल श्रम संस्कृति पार्टीले मात्र गर्ने जनाएकि छन्।
पार्टी अध्यक्ष हर्क साम्पाङ, जो धरान उपमहानगरपालिकाका पूर्व प्रमुख तथा सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य समेत हुन्, उनी श्रमिकमुखी अभियानका लागि चिनिएका नेता मानिन्छन्। उनको नेतृत्वमा पार्टीले विभिन्न सामाजिक तथा श्रमसम्बन्धी अभियानहरू सञ्चालन गर्दै आएको साम्पाङकै केन्द्रीय सदस्य समेत रहेकि माेक्तानले यसाे भनी रहँदा बालेन सरकारकाे सुकुम्बासी हटाउने अभियायनमा हर्ककाे पार्टीले देशभर अवराेध गर्ने आशंका थपिएकाे छ।
मोक्तानले देशभरका समर्थकहरूलाई आवश्यक समन्वयका लागि सम्पर्कमा आउन समेत आग्रह गरेकी छन्। उनले आन्दोलनलाई संगठित र प्रभावकारी बनाउन स्थानीय तहदेखि केन्द्रसम्म सक्रियता बढाउनुपर्ने बताइन्। यस अभियानमार्फत सुकुम्बासीहरुकाे आवाज राज्यसम्म पुर्याउने लक्ष्य लिइएको पनि उनले उल्लेख गरेकी छन्।
यस आह्वानसँगै श्रम संस्कृति पार्टीले आगामी दिनमा सुकुम्बासी आन्दोलनलाई थप तीव्र बनाउने संकेत दिएको छ। पार्टीका नेताहरूका अनुसार सुकुम्बासीहरुकाे हकहित सुनिश्चित गर्न सबै तहबाट दबाब सिर्जना गरिनेछ।










