काठमाडौं । धनुषाका युवा अमृत झा इरानी सेनाको नियन्त्रणबाट रिहा भएका छन्। नेपालका लागि इरानका अवैतनिक वाणिज्यदूत नरेश श्रेष्ठले फोनमार्फत उक्त जानकारी गराउँदै झा सुरक्षित रूपमा रिहा भएको पुष्टि गरेका हुन्।
लामो प्रयासपछि झाको रिहाइ सम्भव भएको जनाइएको छ।
झा नियन्त्रणमा परेको जानकारी पाएपछि उनको परिवार, विशेषगरी दिदी पूजा झा, र अवैतनिक वाणिज्यदूत श्रेष्ठसँग निरन्तर सम्पर्क र समन्वय हुँदै आएको थियो। प्रारम्भिक चरणदेखि नै झालाई सुरक्षित रिहा गराउने पहल निरन्तर जारी राखिएको थियो।

सम्बन्धित निकाय र कूटनीतिक तहमा भएका प्रयासका कारण अन्ततः झा रिहा हुन सफल भएको बताइएको छ। यस घटनाले विदेशमा रहेका नेपालीहरूको सुरक्षाप्रति पुनः चासो र सजगता आवश्यक रहेको संकेत गरेको छ।
हाल झालाई नेपाल फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको छ। वाणिज्यदूत श्रेष्ठका अनुसार झाको स्वदेश फिर्ताका लागि आवश्यक समन्वय भइरहेको छ र चाँडै नै उनी नेपाल फर्कने अपेक्षा गरिएको छ।










