भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले आर्थिक वर्ष २०८२/०८३ को चैत महिनामा जिल्लाभर १४६ वटा मुद्दा दर्ता भएको जनाएको छ। सो अवधिमा विभिन्न घटनामा संलग्न ९९ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
प्रहरीका अनुसार उक्त अवधिमा जबरजस्ती करणी, लागू औषध, डाँका तथा ज्यान मार्ने उद्योगजस्ता गम्भीर अपराधका मुद्दा दर्ता भएका छन्। साथै बैंकिङ कसुरका ७१ र ठगीका ६ गरी कुल ७७ वटा आर्थिक अपराधसम्बन्धी मुद्दा दर्ता भएको देखिन्छ।

यसैबीच, फरार रहेका ४४ जना प्रतिवादीलाई पक्राउ गरी १५ लाख ९८ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, विभिन्न मुद्दामा ३ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति खुलाइएको पनि प्रहरीको भनाइ छ।
लागूऔषध नियन्त्रणतर्फ १३ दशमलव ६८ केजी गाँजा तथा अन्य ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ। यसले जिल्लामा लागूऔषध कारोवार अझै चुनौतीपूर्ण रहेको संकेत गरेको प्रहरीको निष्कर्ष छ।
यस्तै, चैत महिनामा २०३ सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु र १२० जना घाइते भएका छन्। १८८६ सवारी कारबाहीबाट १३ लाख रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको मुख्य कारण तीव्र गति र लापरवाही रहेको प्रहरीको विश्लेषण छ।










