काठमाडौँ । वैदेशिक रोजगारीका पीडितलाई न्याय दिलाउने दाबी गर्दै सञ्चालन गरिएको संस्था “वैदेशिक रोजगार उद्धार नेपाल” का अध्यक्ष इन्द्रलाल गोले पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत, स्वयम्भु बाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको अन्नपूर्ण चोकबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार गोलेले अनाधिकृत रूपमा मेनपावर व्यवसायी, वैदेशिक रोजगारीका पीडित तथा एजेन्टहरूलाई प्रभावमा पार्दै रकम असुल्ने गरेको आरोप लागेको छ। उनले आफ्नो कार्यालयमा समूह बनाएर मेनपावर कम्पनीहरूमाथि दबाब सिर्जना गर्दै “चन्दा आतंक” चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पीडितहरूबाट विभिन्न बहानामा रकम उठाउने र समस्या समाधानको नाममा झुक्याउने गतिविधिमा उनी संलग्न रहेको आरोप छ।

पछिल्ला केही वर्षदेखि यही गतिविधिमा संलग्न रहेका गोलेले काठमाडौंमा घर, गाडी लगायत सम्पत्ति जोडेको समेत अनुसन्धानबाट देखिएको प्रहरी स्रोतले जनाएको छ। उनको सम्पत्तिको स्रोतबारे पनि अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ। मुद्दा अनुसन्धानकै चरणमा रहेकाले थप विवरण आउन बाँकी रहेको र संलग्न अन्य व्यक्तिहरूको खोजी समेत भइरहेको बताइएको छ।










