काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ प्रकरणले राजनीतिक वृत्तमा तीव्र तरंग सिर्जना गरिरहेको बेला एमाले नेता गोकुल बास्कोटा ले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। उनले फेसबुक स्टाटस लेख्दै वर्तमान घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै कानुनी प्रक्रिया र विधिको शासनको पालना गर्न जोड दिएका छन्।
बास्कोटाले आफ्नो स्टाटसमा “अरुलाई पुर्ने खाल्डो खन्दा आफैं पसेर च्यापुसम्म पुरिने खन्नु भन्थे पुर्खाले” भन्ने उखान उल्लेख गर्दै राजनीतिक प्रतिशोधको सन्देश नदिन चेतावनी दिएका छन्। उनले विधिको शासन, कानुनी राज्य, मानव अधिकार तथा बालबालिका, वृद्धवृद्धा र महिलाप्रति नेपाली समाजको संस्कारको सम्मान गर्नुपर्ने उल्लेख गरेका छन्। “घण्ट बजाएर मात्र हुँदैन, व्यवहारमा पनि देखिनुपर्छ,” भन्दै उनले औपचारिकता मात्र नभई व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताए।

उनले कसैमाथि छानबिन गर्नुपर्ने भए त्यसलाई निष्पक्ष रूपमा अघि बढाउनुपर्ने तर आग्रह वा पूर्वाग्रहका आधारमा होइन, कानुनी तथ्य र प्रमाणका आधारमा मात्रै निष्कर्ष निकाल्नुपर्ने धारणा व्यक्त गरेका छन्। ओली पक्राउ प्रकरणले राजनीतिक र कानुनी बहसलाई थप तीव्र बनाइरहेका बेला बास्कोटाको यो अभिव्यक्तिले निष्पक्ष न्याय र विधिको शासनको आवश्यकता पुनः स्मरण गराएको छ।










