धरान। धनुषामा चुनावी अभियान सुरु गर्नुअघि हर्क साम्पाङ पुगेका थिए । तर त्यतिबेला रुवीकुमारी ठाकुर नामकी युवती श्रम संस्कृति पार्टीसँग जोडिएकी थिइनन् । उनी सामान्य जीवन बाँचिरहेकी एक युवती थिइन्—जसले सामाजिक सञ्जालमा हर्क साम्पाङका गतिविधि हेर्थिन् र मनमनै सोच्छिन्, “देशका लागि यस्तै मान्छे चाहिन्छ।”
पहिलो पटक हर्क साम्पाङलाई प्रत्यक्ष भेटेपछि भने उनको सोच मात्र होइन, जीवनको दिशा नै बदलियो । त्यसपछि उनी माटोको चुनाव चिह्न बोकेर धनुषाका गाउँ–गाउँमा मतदाताको घरदैलो पुग्न थालिन् ।

श्रम संस्कृति पार्टीमा आवद्ध भएपछि रुवी आफ्नै समुदायमा मात्र सीमित रहिनन् । उनी सिंगो धनुषा–४ मा सक्रिय भएर प्रचारप्रसारमा जुटिन् । चुनावी मैदानमा उनले मनिष झा जस्ता स्थापित नेतासहित उनका समर्थकसँग राजनीतिक रूपमा खुला बहस र प्रतिस्पर्धा गरिन् ।
सामान्य युवती भएर सुरु भएको यो अभियानले उनलाई राजनीतिमा चिनिन थालेको नयाँ अनुहार बनायो ।
नेपालका परम्परागत ठूला दलहरूमा समानुपातिक सांसद सिफारिस प्रायः पार्टीका शीर्ष नेताका नजिकका व्यक्तिहरू वा पुराना नेताहरूलाई दिइने आरोप लाग्ने गर्छ । तर श्रम संस्कृति पार्टीले भने फरक अभ्यास देखाएको दाबी गर्छ ।
संसद्मा थोरै सिट भए पनि पार्टीले विभिन्न समुदाय र नयाँ पुस्तालाई अवसर दिने नीति अपनाएको भन्दै रुवीकुमारी ठाकुर जस्ता युवालाई समानुपातिक सांसद बनाएको छ ।
यसरी, सीमित सांसद संख्या हुँदाहुँदै पनि पार्टीले सबै वर्गलाई समेट्ने प्रयास गरेको उदाहरणका रूपमा रुवीको चयनलाई हेरिएको छ ।
अहिले उनै रुवीलाई श्रम संस्कृति पार्टीले समानुपातिक सांसद बनाएर संघीय संसद्मा पठाएको छ ।
२५ वर्षीया रुवीका लागि यो जीवनकै सबैभन्दा अप्रत्यासित मोड बनेकाे छ । उनि भन्छिन् — “म सामान्य मान्छे हुँ । तर सधैं पार्टी र हर्क साम्पाङका भिडियो हेर्थें । देशका लागि यस्तो मान्छे चाहिन्छ भन्ने लागेर समर्थक बनेँ । सांसद बन्नु मेरा लागि सरप्राइज नै हो।”
पार्टीले सांसद बनाएको खबर पाएपछि उनी पहिलो पटक धरानस्थित पार्टी कार्यालय पुगिन् । त्यहाँ पुग्दा उनी केही नर्भस थिइन् तर उत्साहले भरिएकी थिइन् ।
धनुषाको मझेलियाकी रैथाने रुवी साधारण परिवारबाट आएकी हुन् । उनका बाबु सोगराथ ठाकुर साउदी अरबमा वैदेशिक रोजगारीमा छन् । उनी पहिले गाउँमै कपाल काट्ने पेसामा संलग्न थिए । आमा रेणु ठाकुर गृहिणी हुन् । परिवारमा रुवीसहित चार बहिनी र दुई भाइ छन् ।
परिवारको आर्थिक अवस्था सामान्य थियो । उनीहरू एक कट्ठा जमिनमा बस्छन् र जीविकाका लागि अर्काको दुई बिघा जमिन अधियामा कमाउँछन् ।
रुवीले धनुषाको मझेलियास्थित श्री माध्यमिक विद्यालयबाट एसईई गरेपछि स्वरोजगार हुने उद्देश्यले डिप्लोमा इन्जिनियरिङ अध्ययन गरिन् ।
स्थानीय बलरा पोलिटेक्निकबाट तीन वर्षे डिप्लोमा सकेपछि उनले वास्तु–आर्किटेक्चर सम्बन्धी काम गर्दै धनुषाकै एक कन्सल्टेन्सीमा मासिक २० हजार रुपैयाँ तलबमा काम गरिरहेकी थिइन् ।
“टुडी र थ्रिडी प्रविधिबाट घरको नक्सा बनाउन सिकेकाले कन्सल्टेन्सीमा काम पाएँ,” उनी भन्छिन् ।
राजनीतिक भाषा अझै सिक्दै गरेकी रुवीले संसद्मा मधेशका सामाजिक समस्यालाई प्राथमिकतामा राख्ने बताएकी छन् ।उनका अनुसार मधेश क्षेत्रमा अझै पनि दाइजोप्रथा,बालविवाह,बेरोजगारी जस्ता समस्याले समाजलाई प्रभावित पारिरहेको छ ।
“दईजाे प्रथा कानुनले प्रतिबन्ध गरे पनि व्यवहारमा अझै हटेको छैन । यसले महिलालाई धेरै पीडा दिएको छ । यस्ता मुद्दा संसद्मा सशक्त रूपमा उठाउनेछु,” उनले भनिन् ।
सांसद बनेपछि पनि उनले आफ्नो पढाइ रोकिन नदिने बताएकी छन् । डिप्लोमा इन्जिनियरिङपछि अब ब्याचलर इन्जिनियरिङ (बीई) गर्ने योजना बनाएकी छन् ।
“राजनीतिक यात्रा देश र जनताका लागि अवसर हो । तर इन्जिनियरिङ पढाइ परिवार र जीवनका लागि पनि आवश्यक छ,” उनले भनिन् ।
जेन–जी पुस्ताकी रुवी हाल अविवाहित छन् । विवाहको विषयमा भने उनले स्पष्ट योजना बनाएकी छन् ।
उनी मुस्कुराउँदै भन्छिन्, “पहिले पाँच वर्ष संसद्लाई दिन्छु । पढाइ पनि अघि बढाउँछु । त्यसपछि विवाहबारे सोचौँला,” ।










