काठमाडौँ । नेकपा(माओवादी केन्द्र)की सांसद अन्जना विशंखेले रोल्पा कारागारमा निधन भएका सुन्दर हरिजन प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गरेकी छिन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विशंखेले विजय विक्रम शाहको नाममा सुन्दर हरिजनलाई रोल्पा कारागार राखिएको र शाहलाई भने हरिजनको नाममा कारागारबाट छुटाउने षड्यन्त्र गरिएको बताइन् ।

उनले केही दिन अघि सुन्दर हरिजनको कारागारमै निधन भएकोमा समग्र घटनाको छानविन गर्नुपर्ने बताइन् । उनले यस घटनाबाट नेपालको सिंगो न्याय प्रणाली, सुरक्षा संयन्त्र र राज्यको पुरै शासन संरचनामाथि प्रश्न चिन्ह खडा भएको उल्लेख गरिन् ।
उनले भनिन्, ‘उक्त घटनामा सिंगो न्याय प्रशासन, न्यायालय जोडिएको कारणले गर्दाखेरी म संसदीय छानविन समिति गठन गरियोस् । र अपराधी करारलाई यथाशीघ्र छानविनको दायरामा लिइयोस् ।










