काठमाडौँ । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले बिहीबार पदवहाली गर्दै तीनवटा निर्णय गरेका छन् ।
उनको पहिलो निर्णय पर्यटकीय नगरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणाका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष सिफारिसका लागि अनुरोध गर्ने रहेको छ ।

पर्यटकीय राजधानी घोषणाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको प्रमुख आचार्यले जानकारी दिए । उनले भने, “सङ्घीय सरकारको मन्त्रिपरिषद्बाट पर्यटकीय राजधानी घोषणा गराउनका लागि हामीले यहाँ औपचारिक निर्णय गरेर सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेका छौँ । यस निर्णय कार्यान्वयन नहुँदासम्म तदारुकताकासाथ पछि लाग्ने छौँ र कार्यान्वयन गरी छाड्ने छौँ ।”
यस विषयमा पटक–पटक चर्चा र प्रतिबद्धता सङ्घीय सरकारका मन्त्रीहरूबाट भए पनि कार्यान्वयनमा नगएकाले विधिपूर्वक निर्णय गरेर पठाएको आचार्यले बताए ।










