नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर नेकपा (एमाले)लाई विभाजित गर्ने षडयन्त्र भइरहेको बताएका छन्।
गएराति एक विज्ञप्ति जारी गर्दै ओलीले एमाले र सो पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र मान्य र क्षम्य हुन हुन नसक्ने स्पष्ट पारेका छन्।

शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेर दल विभाजनका लागि एमालेकै माधव कुमार नेपाल समूहलाई सजिलो पार्नेगरी अध्यादेश ल्याउन लागेको चर्चाका बीच ओलीले विज्ञप्ति मार्फत दल विभाजनसम्बन्धी षड्यन्त्र क्षम्य हुन नसक्ने बताएका हुन्।
ओलीले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु ।’











