काठमाडौं । नेकपा एमालेका सांसद भीमर रावलले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता (कम्प्याक्ट) पारित नगर्न सबैको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले एमसीसी पारित गर्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

एमसीसी सम्झौतामात्रै संसदमा पेस गरेको र यससँग सम्बन्धित् अन्य पत्र समावेश नगरिएको भन्दै उनले उक्त सम्झौताले मुलुकको सार्वभौमिकतामा असर नगर्ने र बौद्धिक सम्पत्तिमा पनि हानी हुने दाबी गरेका छन् ।
एसमीसीबारे अमेरिकी मन्त्री र राजदूतहरुको अभिव्यक्तिले पनि एमसीसी अनुदान नभएर लगानी रहेको प्रस्टीएको भन्दै उनले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने जिकीर गरे ।
जनतालाई भ्रममा पार्ने र मुलुकको सार्वभौकिता र अखण्डतामा असर गर्ने सम्झौता गरियो भने राष्ट्रघात हुने उनको भनाइ छ । एमसीसी सम्झौताका सबै पत्र संसदमा पेश गर्न उनले चुनौती दिए ।
सुरुवातदेखि नै एमसीसी पारित गर्न नहुने भन्दै आएका उनले शुक्रबार पनि संसदबाट सोही दलील पेश गरेका हुन् ।










