काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले मधेसी आयोगद्वारा आयोजित जितिया पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभएको छ।
उपसभामुख ठाकुरले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रममा मिथिला–मधेसको मौलिक सभ्यता, रीतिरिवाज, कला, संस्कृति तथा परम्पराका विषयमा महत्वपूर्ण विचारहरू सुन्ने अवसर प्राप्त भएको उल्लेख गर्नुभएको छ। उहाँले जितिया पर्व मिथिला–मधेसको मौलिक संस्कृति र पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएको बताउनुभएको छ।
कार्यक्रममा आफूलाई आमन्त्रण गरी शुभकामना मन्तव्य राख्ने अवसर प्रदान गरेकोमा मधेसी आयोगका कार्यवाहक अध्यक्ष माननीय जिवछ साहलगायत आयोगका सम्पूर्ण परिवारप्रति उपसभामुख ठाकुरले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।
त्यसैगरी, कार्यक्रममा राष्ट्रिय महिला आयोग, दलित आयोग, थारू आयोगलगायतका संवैधानिक आयोगका अध्यक्ष तथा सदस्यहरूको गरिमामय उपस्थितिप्रति पनि उहाँले आभार व्यक्त गर्नुभएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
उपसभामुख ठाकुरले जितिया पर्वले सबैमा सुख, शान्ति, समृद्धि र पारिवारिक सौहार्द कायम गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। साथै, उहाँले मौलिक संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा जितिया पर्वले थप ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।





