भक्तपुर । नेपालभाषा साहित्य, कला, संस्कृति तथा सामाजिक चेतनाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
पिखुकुगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्यंख्या, गोमारी–९, भक्तपुरले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल संवत् ११०० देखि निरन्तर हुँदै आएको तःमुंज्या यस वर्ष पनि विभिन्न साहित्यिक तथा सांस्कृतिक गतिविधिसहित आयोजना गर्न लागिएको हो। यस वर्षको तःमुंज्या भक्तपुरको महेश्वरीस्थानस्थित गोमारी–९ मा आयोजना हुने जनाइएको छ।
आयोजकका अनुसार तःमुंज्याको मुख्य उद्देश्य नेपालभाषाको संरक्षण, संवद्र्धन र विकाससँगै साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धन गर्नु हो। साथै जनजीवनसँग सम्बन्धित सामाजिक विषयलाई साहित्य, कला र सांस्कृतिक प्रस्तुतिमार्फत उठाउँदै जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। तःमुंज्या राजनीतिक तथा साहित्यिक द्वन्द्वको समेत महत्वपूर्ण मञ्चका रूपमा विकसित हुँदै आएको आयोजकको भनाइ छ।
तःमुंज्यामा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचनसँगै विभिन्न सांस्कृतिक प्रस्तुति हुँदै आएका छन्। नाटक, ख्याल, नृत्य, गीति नाटक तथा गीतको मौलिक प्रस्तुतिले कार्यक्रमलाई आकर्षक बनाउँदै आएको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रमको पहिलो चरणमा दिदीबहिनी साहित्यिक कार्यक्रम र दोस्रो चरणमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने परम्परा रहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार तःमुंज्याले हरेक वर्ष भक्तपुरका फरक–फरक वडा तथा टोलमा कार्यक्रम आयोजना गर्दै आएको छ। सामाजिक असमानता, अन्याय, श्रमिक तथा किसानका समस्या, शिक्षा, स्वास्थ्य, भाषा तथा संस्कृतिको संरक्षण, राष्ट्रियता र सीमालगायत जनजीवनसँग सम्बन्धित विषयमा साहित्यिक रचनामार्फत आवाज उठाउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ।
यसै क्रममा यस वर्षको कार्यक्रमअन्तर्गत असोज १७ गते शनिबार बिहान ९ बजे भक्तपुर उपत्यकाको करिब ४० किलोमिटर दूरीमा साइकल यात्रा आयोजना गरिने भएको छ। तःमुंज्याको प्रचारप्रसार तथा सामाजिक जागरणका लागि साइकल यात्रा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। त्यस्तै, तःमुंज्याको प्रचारार्थ असोज २२ गते शनिबार विभिन्न कार्यक्रम तथा प्रदर्शनीसमेत आयोजना हुने जनाइएको छ।
तःमुंज्याले नयाँ पुस्तालाई नेपालभाषामा लेखन, सिर्जना र सार्वजनिक रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको आयोजकको दाबी छ। यस वर्ष पनि विभिन्न मातृभाषाका साहित्य तथा सांस्कृतिक विधालाई कार्यक्रममा समेटिने र प्रतियोगितात्मक साहित्य वाचनमार्फत नयाँ पुस्ताका लेखक, कवि तथा कलाकारलाई प्रोत्साहन गर्ने जनाएको छ।
राजनीति देश र जनताको निःस्वार्थ सेवा गर्ने क्षेत्र भए पनि तःमुंज्याले साहित्य तथा सांस्कृतिक विधामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा विचार प्रस्तुत गर्दै आएको विज्ञप्तिमा उल्लेख छ। विश्वका विभिन्न क्षेत्रमा भइरहेका द्वन्द्व, हिंसा तथा प्राकृतिक विपत्तिबाट सुरक्षित हुन साहित्य, वाचन र सांस्कृतिक विधामार्फत शान्ति तथा मानवताको पक्षमा आवाज उठाउनुपर्ने आयोजकको धारणा छ।
आयोजकले ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम सफल बनाउन साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी, स्थानीय समुदाय, सञ्चारकर्मी, उद्योगी, व्यापारी तथा सम्पूर्ण भाषा–संस्कृतिप्रेमीलाई सक्रिय सहभागिता र सहयोगका लागि आह्वान गरेको छ।





