हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मकवानपुरबाट महाधिवेशन प्रतिनिधि (खुला) पदका लागि पुरुषोत्तम ठकुरीले उम्मेदवारी घोषणा गरेका छन्।
कांग्रेसको संगठनलाई थप सुदृढ, सशक्त र सिद्धान्तनिष्ठ बनाउने उद्देश्यसहित आफूले महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिएको ठकुरीले बताएका छन्। उनले ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ कांग्रेसको मूल आदर्शलाई आत्मसात् गर्दै संगठन निर्माण र जनतासँगको सम्बन्धलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ठकुरीले आफ्नो उम्मेदवारीका क्रममा संगठनको जग बलियो बनाउन लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, जनताका समस्या समाधानमा निरन्तर सक्रियता तथा कांग्रेसको विचार र सिद्धान्तप्रति निष्ठालाई मुख्य आधारका रूपमा प्रस्तुत गरेका छन्।
ठकुरीलाई भोट किन ?
ठकुरीको उम्मेदवारी घोषणामा संगठनप्रतिको सक्रियता, सामाजिक सेवामा निरन्तरता, जनतासँगको प्रत्यक्ष सम्बन्ध, पार्टीको सिद्धान्तप्रतिको प्रतिबद्धता र क्षेत्रका विभिन्न वर्ग तथा समुदायलाई समेटेर अघि बढ्ने क्षमतालाई प्रमुख आधारका रूपमा उल्लेख गरिएको छ।
उनका समर्थकहरूले ठकुरीलाई जनताको सुख–दुःखमा साथ दिने सामाजिक व्यक्तित्वका रूपमा प्रस्तुत गर्दै संगठनलाई थप सबल र समावेशी बनाउन उनको भूमिका प्रभावकारी हुने दाबी गरेका छन्। साथै, कांग्रेसको लोकतान्त्रिक मूल्य र सिद्धान्तलाई व्यवहारमा अघि बढाउन सक्ने नेतृत्वका रूपमा ठकुरीको उम्मेदवारीलाई व्याख्या गरिएको छ।
महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका ठकुरीले क्षेत्रीय प्रतिनिधि, पार्टीका अग्रज नेता तथा कार्यकर्तासँग सहकार्य गर्दै संगठनलाई अझ बलियो बनाउने बताएका छन्। उनको उम्मेदवारीसँगै मकवानपुर–२ मा खुलातर्फको महाधिवेशन प्रतिनिधि चयनलाई लिएर कांग्रेसभित्रको प्रतिस्पर्धा थप रोचक बनेको छ।





