काठमाडाैं । नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र कजाकिस्तानका परराष्ट्रमन्त्री मुख्तार त्लिउबर्दीले आ–आफ्ना सरकारका तर्फबाट उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो।
सम्झौताअनुसार दुवै देशका कूटनीतिक तथा सरकारी/ सेवा राहदानीवाहकलाई सम्बन्धित देशको भ्रमणका क्रममा भिसा आवश्यकताबाट छुट दिने व्यवस्था गरिएको छ। सम्झौताले नेपाल र कजाकिस्तानबीच आवागमन सहज बनाउँदै द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्झौतामा हस्ताक्षर गर्नुअघि परराष्ट्रमन्त्री खनाल र कजाकिस्तानका परराष्ट्रमन्त्री त्लिउबर्दीबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटवार्तामा दुवै मन्त्रीहरूले आपसी हितका महत्वपूर्ण विषयमा विचार आदानप्रदान गर्नुका साथै नेपाल-कजाकिस्तानबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा मैत्रीपूर्ण तथा सहकार्यात्मक छलफल गर्नुभएको थियो।





