काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नेपालको अर्थतन्त्र सुस्त अवस्थामा रहे पनि प्रगतिपथमा रहेको बताएका छन्। अर्थतन्त्रका केही सूचक कमजोर भए पनि समग्र वित्तीय अवस्था तुलनात्मक रूपमा बलियो रहेको उनको भनाइ छ।
नेपाली युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरले आयोजना गरेको ‘थिंक ट्यांक सिरिज’को पहिलो कार्यक्रममा नेपालको आर्थिक अवस्था, लगानीको वातावरण तथा निजी क्षेत्रका चुनौतीबारे धारणा राख्दै अर्थसचिव उपाध्यायले यस्तो बताएका हुन्।
उनका अनुसार नेपालको आर्थिक वृद्धिदर लामो समयदेखि अपेक्षाकृत न्यून छ। पछिल्ला २५ देखि ४० वर्षको औसत आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको तथा कोभिड–१९ महामारीका क्रममा आर्थिक वृद्धि ऋणात्मक भएको उनले उल्लेख गरे।
अर्थसचिव उपाध्यायले कमजोर निजी लगानी, न्यून पूँजीगत खर्च, उच्च व्यापार घाटा र कम उत्पादकत्वलाई नेपालको अर्थतन्त्रका प्रमुख चुनौतीका रूपमा औंल्याए। स्वदेशी निजी लगानीसँगै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढाउन लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
सरकारको पूँजीगत खर्च प्रभावकारी रूपमा परिचालन गर्न सके रोजगारी सिर्जना, आर्थिक वृद्धि र निजी लगानी विस्तारमा सहयोग पुग्ने उनले बताए। नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा अत्यधिक रहेको उल्लेख गर्दै उत्पादन तथा निर्यात बढाउनुपर्नेमा उनले जोड दिए।
यद्यपि, रेमिट्यान्समा भइरहेको वृद्धि, जलविद्युत् क्षेत्रको विस्तार, मध्यम मुद्रास्फीति, न्यून ब्याजदर र पर्याप्त तरलतालाई अर्थतन्त्रका सकारात्मक पक्षका रूपमा अर्थसचिव उपाध्यायले प्रस्तुत गरे। नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब ४३ प्रतिशत रहेको उल्लेख गर्दै उनले ऋणलाई उत्पादनशील क्षेत्र, औद्योगिकीकरण तथा पूर्वाधार विकासमा परिचालन गर्नुपर्ने बताए।
रेमिट्यान्सलाई उपभोगमा मात्र सीमित नराखी उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके रोजगारी सिर्जना र आर्थिक वृद्धिमा योगदान पुग्ने उनले बताए। सरकारले अघि बढाएको वैकल्पिक विकास वित्त कोषमार्फत सार्वजनिक पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए।
नेपालले जलविद्युत् उत्पादनलाई औद्योगिकीकरणसँग जोड्नुपर्ने तथा वैदेशिक रोजगारीलाई सीप र उच्च आम्दानीमा आधारित बनाउनुपर्नेमा पनि उनले जोड दिए। सुशासन, लगानीको वातावरणमा सुधार र प्रभावकारी सार्वजनिक सेवा आर्थिक विकासका लागि आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष आभूषणज्योति कंशाकारले सरकारी नीति निर्माणमा धनी र गरिब वर्गलाई केन्द्रमा राखिए पनि मध्यम वर्गीय उद्यमी–व्यवसायीका समस्या पर्याप्त रूपमा सम्बोधन हुन नसकेको बताए।
उनले पछिल्लो समय जेनजी आन्दोलन तथा भोटेकोशी बाढीका कारण मध्यम वर्गीय उद्यमी–व्यवसायी थप प्रभावित भएको बताए। व्यवसायमा क्षति पुगेका कतिपय उद्यमीले बीमा दाबीको भुक्तानी नपाएको, बैंकको ऋण तथा धितोको दबाब रहेको र पुनः लगानी गर्न आवश्यक पूँजीको अभाव रहेको उनको भनाइ थियो। यस्तो अवस्थामा सरकारले मध्यम वर्गीय व्यवसायीलाई पुनः व्यवसायमा फर्कने वातावरण निर्माण गर्नुपर्ने उनले बताए।
त्यस्तै, नेपाली युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरका अध्यक्ष अनुकूल श्रेष्ठले सरकारका नीति तथा युवा उद्यमीका सरोकार र समस्याबीच ठूलो खाडल रहेको बताए। उक्त खाडल कम गर्न नीति निर्माता र निजी क्षेत्रबीच प्रत्यक्ष संवाद तथा नीतिगत बहस आवश्यक रहेकाले ‘थिंक ट्यांक सिरिज’ सुरु गरिएको उनले जानकारी दिए।
पहिलो कार्यक्रमबाट सुरु भएको नीतिगत बहसलाई आगामी दिनमा पनि निरन्तरता दिइने अध्यक्ष श्रेष्ठले बताए। उनका अनुसार उद्यमीका वास्तविक समस्या नीति निर्माणको तहसम्म पुर्याउने र सरकार तथा निजी क्षेत्रबीच संवादको वातावरण निर्माण गर्ने उद्देश्यले सिरिजलाई नियमित बनाइनेछ।





