भक्तपुर । चाँगुनारायण नगरपालिका–७ मा नेपालकै पहिलो विशेषीकृत मुख तथा दन्त रोग अस्पताल निर्माण गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीसँग महत्वपूर्ण छलफल भएको छ। उक्त पहलमा भक्तपुर निर्वाचन क्षेत्र नं. १ का प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य रुकेश रञ्जितकाे सक्रिय भूमिका रहेको जनाइएको छ।
प्रस्तावित अस्पतालका लागि बागेश्वरी गुरूङटारस्थित वाल्मीकि स्कुलसँग जोडिएको करिब ५६ रोपनी जग्गामा निर्माण गर्ने योजना अघि सारिएको छ। सोही जग्गा प्राप्ति प्रक्रिया र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न मन्त्रीसमक्ष औपचारिक रूपमा आग्रह गरिएको बताइएको छ। छलफलका क्रममा सांसद रञ्जित सहित स्थानीय प्रतिनिधिहरूले परियोजनाको आवश्यकता र सम्भाव्यताबारे विस्तृत जानकारी गराएका थिए।

स्वास्थ्य मन्त्रीले उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै जग्गा प्राप्ति र डीपीआर प्रक्रिया अगाडि बढाउन तत्काल सचिवस्तरमा छलफल गरी फाइल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यससँगै चाँगुनारायण–७ मा अत्याधुनिक दन्त अस्पताल निर्माणको प्रक्रिया छिट्टै अघि बढ्ने विश्वास गरिएको छ।










