काठमाडौ । पछिल्लो समय मकवानपुरमा शैक्षिक प्रमाणपत्र कीर्ते गरी नेपाल पत्रकार महासंघको सदस्यता लिइएको प्रमाण बाहिरिएसंगै अहिले यस विषयले हेटौंडामा हलचल मच्चाएको छ ।
रातोपाटी डटकमका बागमती प्रदेशका व्युरो प्रमुख गणेश दुलाल र न्यूज २४ टेलिभिजन र नेपाल खबर डकमकी प्रदेश संवाददाता कृष्णा बिष्ट (सुनिता)ले शैक्षिक प्रमाणपत्र कीर्ते गरी महासंघ मकवानपुर शाखाबाट सदस्यता लिएको विषय बाहिरिएपछि अहिले हेटौंडा गर्माएको छ । महासंघको कार्यसमिति सदस्य समेत रहेका दुवैजना निर्वाचनमा प्रेस युनियन–प्रेस चौतारी गठबन्धनबाट विजयी भएका थिए ।
गठबन्धनबाट विजयी भएपनि तत्कालिन समयमा प्रेस युनियनबाट विद्रोह गरेर अध्यक्षका उम्मेदवार बनेका पोष्टराज कुमार अधिकारीलाई मतदान गरेको र गठबन्धनका केही उम्मेदवारलाई हराउन सफल भएपछि आफूलाई ‘शक्तिशाली’ ठान्दै आएका दुलाल र विष्ट यस विषय मिलाउन नसकेपछि हायलकायल बनेका छन् । उनीहरुले रुँदै कराउँदै यो विषयलाई ‘सेफल्यान्डिङ’ गरिदिन नजिकका केहिलाई अनुनय विनय गर्दै आएका छन् । युनियन, चौतारीले कीर्ते कागजात मिलाउन नसक्ने अवस्थामा पुगेपछि महासंघ अध्यक्ष बालकृष्ण अधिकारीको लगातारको दौडधुपले सार्थकता पाउन सकेको छैन । अधिकारीले कीर्ते गर्ने भेट्दा मिलाउन र अरु भेट्दा कारबाही गर्ने भनेर ‘दही चिउरे’ शैली देखाएपछि उनको समेत पत्रकारहरुले कुरा काट्न थालेका छन् । कांग्रेस र एमालेको आडमा मन्त्रालयदेखि वडासम्म विज्ञापन मागेर दुईजनाले सबैलाई दिक्क बनाउँदै आएका छन् ।
मन्त्रालयदेखि वडासम्म विज्ञापनको सेटिङ हान्दै केही झुण्ड पत्रकार बोकेर हिँड्ने दुलाल र विष्टले कीर्ते गरेको प्रमाणसहितको कागजपत्र अध्यक्ष अधिकारीले लुकाएर राखेको स्रोतको दाबी छ । अधिवक्ता समेत रहेका अधिकारीले दुवैजनालाई जोगाउन थालेपछि उनी कानुनको विद्यार्थी हो वा होइन भन्ने विषयमा समेत चर्चा हुन थालेको छ ।
यसविषयमा छानविन गर्नभन्दै जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुयोग अनुसन्धान आयोगसम्म निवेदन परेको बुझिएको छ । जिल्लाका पुराना र सिनियर पत्रकारहरुले दुवैजनालाई राजीनामा दिन भनेपछि उनीहरुले बेवास्ता गरेपछि माहौल उनीहरु विरुद्धको बन्दै गएको छ ।
राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारितामा रहेकाहरुले नै किर्ते कागजात बनाई ‘फेक डकुमेन्ट’सहित सदस्यता लिनु गम्भीर विषय रहेको पत्रकार अगुवाहरुको भनाई छ । अरुलाई प्रश्न गर्दै जवाफदेहिता माग्ने पत्रकारले नै शैक्षिक प्रमाणपत्र नक्कली पेस गरेर सदस्यता लिनु समग्र पत्रकारिता जगतकै वेइज्जत भएकोले यस्ताहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ ।





