१९ जेठ, काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राती राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन ।
पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या गरिएको थियो । तत्कालिन शाही सेनाको उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ।
हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रबाट परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेका थिए । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेको अवस्था भने छैन ।
प्रधानन्यायाधीश संयोजकत्वको समितिपछि उक्त घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । तर बेलाबेलामा सरकारी तवरबाटै यसको छानविनको माग भने उठ्ने गरेको पाइन्छ । यद्यपि राजनीतिक प्रतिशोधका कारण यस्ता माग उठ्ने गरेको भए पनि यस हत्याकाण्डको सत्य तथ्य सार्वजनिक गर्नेतर्फ चासो दिने गरेको पाइँदैन ।
तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको दोस्रो मन्त्रिपरिषदमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने कुरा उठाएका थिए । त्यतिबेला यो प्रस्ताव मन्त्रीपरिषद्सम्म पुगेको भएपनि पछि त्यसै सेलायो । राजगद्दीबाट फालिएपछि पनि ज्ञानेन्द्रले राजनीतिक वक्तव्यबाजी गर्न नछाडेको प्रतिशोधमा निधिले त्यतिबेला छानबिनको कुरा उठाएका थिए । तर पछि यो कुरा अघि बढाइएन ।
तीन करोड नेपाली जनताको असल अविभावकको रुपमा रहेको राजा बिरेन्द्रको परिवारमात्र उजाडिएन ज्ञानेन्द्रले पनि लामोसमय राज भने गर्न सकेन,फलस्वरुप ज्ञानेन्द्र को बहिर्गमन हुँदै 0६२/0६३ को जन आन्दोलनबाट देस गणतान्त्रिक नेपालमा पारीणत भयो तर पनि नेपाली जनताले राजा बिरेन्द्रलाई सम्झिरहेको छ ।





