भरतपुर महानगरपालिकाले कोभिड १९ रोकथाम तथा उपचारमा प्रभावकारी कदम चालेको जनाएको छ । महानगरभित्रका कुनै पनि संक्रमित बिरामीलाई अस्पतालसम्म ल्याउन महानगरले व्यवस्था गरेको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले कोभिड १९ को रोकथाम र उपचारको लागि महानगर प्रमुख नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरिएको बताइन् ।

उनले कोरोनाका लक्षण देखिएकाहरुलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको र आवश्यक परेका बिरामीहरूलाई अस्पतालसम्म ल्याउने व्यवस्था गरेको बताइन् ।
एम्बुलेन्स स्टाण्डवाई राखिएको र जानकारी पाउन साथ बिरामीलाई अस्पतालमा ल्याउने व्यवस्था मिलाइएको छ। भरतपुर महानगर उपप्रमुखले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई सफल पार्न समन्वय गरिएको बताइन् ।
उनले महानगरभित्रका संक्रमितहरुको तथ्याङ्क अभिलेख नियमित गरी प्रतिवेदन तयार गरिएको बताइन् ।
भरतपुर केन्द्रिय अस्पताल मेडिकल कलेजहरू, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा महानगरभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी संक्रमितहरुको उपचारका लागि प्रभावकारी ढङ्गले अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिए । उनले भरतपुर महानगर माहतहतका सम्पूर्ण स्वास्थ्य केन्द्रहरू नियमित सञ्चालन गरी स्वास्थ्यकर्मीहरूलाई कोभिड रोग नियन्त्रण, व्यवस्थापन तथा उपचारका लागि परिचालन गरिएको बताए ।
जिल्लास्थित अन्य कार्यालय तथा संघ संस्थाहरूसँगको समन्वयमा कोभिड रोकथाम तथा उपचारको लागि समन्वय र सहजीकरण भइरहेको महानगरको भनाइ छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, वडा स्थित सर्वपक्षिय समिति र टोल विकास समितिलाई समेत सक्रिय बनाइ कोभिडका बिरामीहरूको पहिचान व्यवस्थापन र उपचारलाई सहज बनाउने कार्य भइरहेको महानगरले जनाएको छ।
महानगरबासीको स्वास्थ्य सुरक्षालाई विशेष महत्व दिएर आवश्यकता अनुसार थप कामहरू गर्दै जाने योजनाका साथ भरतपुर महानगर अगाडि बढिरहेको महानगर प्रमुखको भनाइ छ ।
skynepslnewes.com










