– हरि जिज्ञासु
कमरेड बिद्रोही !

विद्रोह कहाँबाट जन्मिन्छ, र कहाँ गएर अन्त्य हुन्छ ?
कमरेड विद्रोही ! मान्छेलाई तह लगाउँने शक्तीसाली बम कहाँ बन्छ, र कसले बनाउँछ ?
कमरेड विद्रोही ! बन्दुकको तातो गोलीले आफू जस्तै मान्छेको छातीमा ड्याम्म हान्दा कतिको आनन्दको महसुस हुन्छ ?
कमरेड विद्रोही ! चर्को बमको आवाजले आफ्नो सानो नानी जस्तै,अर्काको सानो नानी अत्तालिएर रुँधा कत्तिको आनन्द मिल्छ ?
कमरेड विद्रोही ! तिमीले हानेको तातो गोलीले घोचेर रक्ताम्य भएको मान्छे भयाबह रुपमा छटपटाउँदा तिमीलाई कती आनन्द मिल्छ ?
कमरेड विद्रोही ! बन्दुकको शक्तिले शक्ति हात पारेको तिम्रो शक्ति अजम्बरी हो की, तिमी रहँदा सम्म ?
कमरेड विद्रोही ! आज तिमीले तिमी जस्तै मान्छेको हत्या गरेर प्राप्त गरेको सत्ताबाट तिमीलाई कत्तिको आन्द मिल्छ ?
कमरेड विद्रोही ! मलाई चित्त बुज्दो जवाफ देओ, मलाई जवाफ चाहिएको छ । कमरेड विद्रोही ! यदि मनमा शान्ति मिल्छ भने,म पनि विद्राही बनेर पढ्काउँछु बन्दुक । देशका भ्रष्टचारी ब्याँसोहरुको अन्त्य गर्नु छ । कमरेड विद्रोही ! यदि शान्ति मिल्छ भने यहाँ मान्छेलाई मान्छे नदेख्ने रोगीहरुको रोग बन्दुगको गोलीले निको पार्नु छ । कुऋतीलाइ बाँच्ने साहारा बनाएका हरुलाई छुटकारा दिनु छ । कमरेड विद्रोही ! अरुको रगत बगाएर शान्ति मिल्छ भने मात्रै यस्तो गर्छु । यदि शान्ति मिल्दैन भने तिमीजस्तो ढुंगे बन्नु छैन मलाई ।










