संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ ।
सो प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेकोमा डीएसपी रूपेश खड्कासहित ११ जना प्रहरी कर्मचारी दोषी देखिएपछि कारबाहीका लागि सिफारिस गर्ने तयारी भएको छ । छानबिन समितिले अनुसन्धानको प्रतिवेदन तयार गरेर प्रहरी महानिरीक्षकलाई बुधबार बिहान बुझाउँदै छ । ‘अनुसन्धान सकियो, प्रश्नपत्र लिक भएको पुष्टि भएको छ, परीक्षा रद्द गर्न प्रतिवेदनमा सिफारिस गरेका छौं, केही प्रहरी कर्मचारीलाई कारबाहीका लागि पनि सिफारिस गरेका छौं, लेयर लेयरमा कारबाही सिफारिस भएको छ,’ छानबिन समितिका एक सदस्यले राजधानीसँग भने ।

ती प्रहरी अधिकारीका अनुसार दोषी प्रहरीलाई प्रहरी ऐनबमोजिम बर्खास्तीदेखि नसिहत र बढुवा रोक्कासम्मको कारबाही सिफारिस गर्न प्रतिवेदनमा भनिएको हो । यो समाचारराजधानी दैनिकमा छ ।










