पहाड शिरमा हिमाल सिरानी राखेर, नदीको चिसो पानीमा पैतला डुबाई, कपालमा लाँलीगुराँस सिउरी नाकमा वुकीको बुलाकीसँग सजिएर । मस्त हाँसेकी छु, उन्मत्त वैश संगालेर । छातीमा अन्न उमारी जगतको भोक मेटाएकी छु, छातीमा पानी उमारी जीवको प्यास मेटाएकी छु, छातीमा बन उमारी स्वच्छ हावा दिएकी छु । यो छाती, बिशाल छाती गाउँ बसाएकी छु, शहर बसाएकी छु, बस्ती बसाएकी छु ।
हरियो पहाड, निलो पहाड, श्रृङ्गारले धपक्कै बलेको छ, यो रूप र बैश देखेर दुनियाँ छक्क छक्क छन्, आकाश मख्ख मख्ख छन्, हिमाल इर्श्याले जलेको छ, यो लावण्डय रूपबाट बराबर जगत वशिभूत भएको छ, रातभरको प्रतिक्षा पछी बिहान सबेरै सूर्य मलाई चुम्न आइपुग्छ, ।

दिनभरको लामो प्रतिक्षा गर्दै गोधुली साँझसँगै जून लुकामारी गर्न आइपुग्छ, सौन्दर्यको पारख पिउन, ताराहरू ठेलमेल गर्दै आँखी झ्यालबाट चिहाउछन् । हावाको शितल झोक्का बादललाई दूत बनाई स्पर्श गर्न आइपुग्छ । मेरा यी खुशी खुशी पलहरू, मेरा यी सुखी सुखी क्षणहरू आज भत्किएको छ, आज बिग्रिएको छ, दिनको चैन र रातको निद हराएको छ । बेचैनी बढेको छ ।
छटपटी बढेको छ । समर्पण र त्याग दान र बलिदानको बावजुद आज, मेरो शरीर माथी डोजर निर्मम कुदाइएको छ, स्काभेटरको क्रुर नंग्रा गाडिएको छ, शरीर थिल थिलो भएको छ, रूप, कुरूप भएको छ, जिउ रक्ताम्य भएको छ, जिलेटिनको बिस्फोटले कानको जाली फुटेको छ, आँखाको ज्योति गुमेको छ, जिब्रोको स्वाद हराएको छ, वास्तवमा, म अपाङ्ग भएको छु, म असहाय भएको छु ।
आफुले आफैलाई सोध्ने गर्छु, निरन्तर त्याग र बलिदान गर्दा गर्दै, जीब र जगतको रक्षा गर्दा गर्दै, युद्धभूमिको अनुशासित सिपाही झैं सतिसाल झैं कर्तव्यमा ठिङ्ग उभिरहदा, म माथीको यो प्रहार म माथीको यो दोहन म माथीको यो शोषण बुझ्न सकिरहेको छैन ।
म, धर्तीमाताको प्रतिनिधि पात्र जीव, जगतको आज्ञाकारी सेवक । फेरि पनि समय छ, नयाँ सिर्जनाको नयाँ सृष्टिको संरक्षणको सह अस्तित्व आउन बाँकी छ ।










