काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ बजेदेखि प्रारम्भ हुँदैछ। संसद् अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आह्वान गरिएको हो।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार, आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी गराउने कार्यक्रम रहेको छ।

बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरिने सम्भावना छ। अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेताहरूलाई मन्तव्य व्यक्त गर्न समय दिइनेछ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्नुहुनेछ। व्यवस्थापन पक्षमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यसअघि हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो। संविधानको व्यवस्था अनुसार, प्रत्येक वर्षको पहिलो अधिवेशनपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्न सक्ने प्रावधान रहेको छ। यसै अनुरूप राष्ट्रपतिको सम्बोधन यही अधिवेशनमा हुनेछ।
आगामी जेठ १५ गते अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरिने छ। त्यसअघि वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने र ‘प्रि बजेट’ छलफल वैशाख २८ गतेदेखि प्रारम्भ हुने सम्भावना रहेको संसद् सचिवालयका एक अधिकारीले जानकारी दिनुभयो। हालको व्यवस्थाअनुसार, बजेट प्रस्तुत हुनु १५ दिनअघि नै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ।
यस अधिवेशनमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल हुने र संघीय निजामती सेवा ऐन तथा विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने प्रयास हुने सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको उहाँको भनाइ छ।










