काठमाडौं । आइतबार काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने राप्रपाको औपचारिक निर्णय छ । राप्रपाको यो निर्णयले आइतबारको प्रदर्शन अराजक र तनावपूर्ण हुने जोखिम छ । १५ चैतको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइको मागसहित राप्रपाले प्रदर्शनको कार्यक्रम तय गरेको हो ।
४ चैतको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए, ‘सरकारले शान्तिपूर्ण भेला हुन पाउने, प्रदर्शन गर्न पाउने मौलिक अधिकारलाई वञ्चित गरेर निषेधित क्षेत्र तोकी संकुचित बनाउँदै लगेकाले निषेधित क्षेत्रमै प्रदर्शन गर्ने निर्णय गरिएको छ ।’

गत १५ चैतको हिंसात्मक प्रदर्शनबाट राप्रपाका नेताहरू धवलशमशेर राणा र रवीन्द्र मिश्रसहितका नेता–कार्यकर्ता पक्राउ परेका थिए । उनीहरूको रिहाइ माग गर्दै राप्रपाले आन्दोलन गर्दै आएको छ ।
प्रहरीको विशेष सुरक्षा योजना कस्ताे ?
प्रदर्शनमा हुन सक्ने हिंसात्मक योजना रोक्न प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । शनिबार उपत्यकाका नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीबिचको संयुक्त बैठकले गत १५ चैतमा जस्तो आन्दोलन अराजक भए तत्काल नियन्त्रण लिने गरी योजना बनाइएको एक प्रहरी अधिकारीले बताए ।










