काठमाडौं/नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताको अन्तिम गृहकार्य चलिरहेको छ । नाउपाका संस्थापक एवम् संरक्षक रेशमलाल चौधरीले जनमतसँग एकताको तयारी अन्तिम चरणमा पुगेको र आगामी चैत्र ९ गते एकता घोषणासभा राखिएको समेत जानकारी दिए ।
चौधरीले धेरै चरणको छलफलपछि दुई दलबीच एकताको लागि सहमतिमा पुगिएको दाबी गरे । उनले एकतापछिको पार्टीमा आफू संरक्षक भएर बस्ने र सिके राउत पार्टी अध्यक्ष बन्ने पनि सुनाए । दुई दलबीचको एकता प्रक्रियामा दुवै दलका नेताहरुको सहमति रहेको दाबी गरिएको छ ।

तर, एकता प्रक्रियाको लागि नाउपाकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ चौधरी भने कुनैपनि बैठकमा सहभागी छैनन् । यो एकतामा रञ्जिताको सहमति नहुने पनि चर्चा छ । रेशमले भने रञ्जिताको पनि सहमति भयो दुई अध्यक्ष प्रणालीमा पार्टी चलाउने र रञ्जिता सहमति नभएपनि एकता नरोकिने ठोकुवा गरे । नाउपामा लामो समयदेखि रेशम र रञ्जिताबीच विवाद रहँदै आएको छ । कतिपयले पति पत्नीको झगडाले वैकल्पिक राजनीतिक शक्ति मरणासन्न अवस्थामा पुगेको भनेरपनि आलोचना गर्ने गरेका छन् ।










