काठमाडौं। नेकपा (माओवादी केन्द्र)को बैठक आइतबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न १ बजेदेखि बस्ने बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्प: आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उनीबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ।
बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहनेछ।
यसअघि केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुंगो लगाउन आज बिहान ८ बजे उक्त पार्टीको स्थायी समितिको बैठक बोलाइएको छ।
संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा दुवै राजनीतिक दलको बस्न लागेको बैठकले संविधान संशोधनलगायतका एजेण्डामा ठोस धारणा तय गर्ने बताइएको छ।










