मोरङ । नेपाली कांग्रेस लेटाङ नगर समितिले आयोजना गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ। शुभकामना आदानप्रदान कार्यक्रम नेपाली कांग्रेस लेटाङ नगर सभापति दिपक चन्द्र राईको अध्यक्षता तथा मोरङ जिल्ला समितिका सभापति तथा पूर्व संघीय मन्त्री सांसद डिग बहादुर लिम्बूको प्रमुख आतिथ्यता रहेको थियोे ।

यस्तै नेकपा एमाले कोशी प्रदेश अध्यक्ष एवम् पूर्व सांसद घनश्याम खतिवडा, पूर्व मेयर शंकर राई, नेपाली कांग्रेसका महासमिति सदस्य, लेटाङ नगर प्रमुख भुपेन्द्र कुमार लावति, उपप्रमुख कृष्ण कुमारी निरौला, विभिन्न दलका नेता, स्थानीय जनप्रतिनिधि लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षण भने एकीकृत समाजवादीकि नेतृ शान्ति पाख्रिनको वक्तव्य रह्यो, जसमा उनले समकालीन राजनीतिक अवस्था, युवाहरूको कम उपस्थिति, र सरकारको कार्यशैलीमाथि आलोचना गरिन्।
पाख्रिनले आफ्नो सम्बोधनमा, हालको गठबन्धन सरकारको आलोचना गर्दै जनयुद्ध र लोकतन्त्रका आन्दोलनहरूबाट प्राप्त परिवर्तनहरूलाई सम्झाइन्। तर, उनले वर्तमान सरकार युवाहरूको सक्रियताको अभावमा रहेको बताइन्। हलमा उपस्थित भीडतर्फ नजर घुमाउँदै, पाख्रिनले “खै, युवाहरू कहाँ छन्?” भन्ने प्रश्न उठाइन्। कार्यक्रममा सहभागी अधिकांश व्यक्ति ५० वर्षभन्दा माथिका थिए, जसले युवा वर्गको सक्रियतालाई देखिन दिएन।
उनले विशेष रूपमा युवाहरूको नेतृत्वको खाँचो औंल्याइन्। पाख्रिनले भनिन्, “अब जुनसुकै पार्टीबाट भए पनि, युवाहरू नै नेतृत्वमा आउनुपर्छ। परिवर्तन युवाहरूबाट मात्र सम्भव छ।” साथै, उनले राजनीतिक दलहरूलाई युवाहरूलाई अवसर नदिएकोमा गुनासो गरिन्, विशेष रूपमा पुराना पार्टीहरूले वडा सदस्यको टिकट दिनसमेत युवा नेताहरूलाई विश्वास नगरेको बताइन्। उनले रास्वापाका युवा सांसदहरूलाई उदाहरण दिँदै, नयाँ सोच र नेतृत्वका लागि युवा वर्गलाई अघि सार्नुपर्ने आवश्यकता औंल्याइन्।
उनले सरकारको आलोचना गर्दै, हालैका प्राकृतिक विपत्तिहरूमा सरकारको गैर-जिम्मेवारीपनप्रति असन्तुष्टि व्यक्त गरिन्। “देशमा दैवी प्रकोप भइरहेको बेला, सरकार जिम्मेवारी लिन असफल देखिएको छ,” उनले भनिन्। जनप्रतिनिधिहरूले दलगत स्वार्थभन्दा माथि उठेर जनताको सेवा गर्नुपर्नेमा पनि उनले जोड दिइन्।
अन्त्यमा, पाख्रिनले आफु जहिले पनि जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्। उनले भनिन्, “पदमा बसेर काम नगर्न सकिए पनि, म सदैव जनताको साथमा रहन्छु, चाहे भुइँमै किन नहोस्।”
सोही कार्यक्रममार्फत नेपाली राजनीतिमा युवाहरूको सहभागिता, नेतृत्वको खाँचो, र सरकारको कामकारबाहीप्रति उनले बढ्दो असन्तुष्टि व्यक्त गरेकि छिन।










