झापा । झापाको शिवसताक्षी नगरपालिका-८, झिलझिलेमा दोस्रो समाज सेवी सांस्कृतिक तथा साङगीतिक मिनी मेला २०८१ असोज २४ गतेदेखि कार्तिक ३ गतेसम्म आयोजना हुने भएको छ।
समाजसेवी क्लबले आयोजना गरेको यस मेलाको मुख्य उद्देश्य हिन्दू धर्मावलम्बी नेपालीहरूको महान् चाड दशैँलाई लक्षित गरी सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गर्नु हो।

मेला विभिन्न राष्ट्रिय र स्थानीय संगीत ब्यान्डहरूको प्रस्तुति सहित सम्पन्न हुनेछ। पहिलो दिन असोज २४ गते एएस ब्यान्ड, २५ गते लिजाड ब्यान्ड, २६ गते डब्लुई ब्यान्ड लगायतका ब्यान्डहरूले सांगीतिक प्रस्तुति दिनेछन् । साथमा, हाउजी बिंगो तम्बोला खेलसमेत खेलाइनेछ।
समाजसेवी क्लबका सल्लाहकार सुरज रिङलुङ्ग राईले पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार, यो मेला क्लबले पहिलो पटक आयोजना गरेको सफल मेलाको निरन्तरता हो, जसबाट संकलित रकमले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पोशाक र स्टेशनरी सामग्री वितरण गरिनुका साथै अन्य सामाजिक कार्यमा खर्च गरिएको थियो। यसपटकको मेला पनि सामाजिक सेवामा नै लक्षित रहेको क्लबका अध्यक्ष मिलन सुब्बाले बताए।
कार्यक्रम संयोजक प्रताप खापुङले मेलाको तयारी तीव्र गतिमा भइरहेको र गेट, स्टेज, र सुरक्षा घेरा निर्माणका कामहरू धमाधम भइरहेका जनाएका छन्। मेला २४ गते बेलुका प्रतिनिधि सभा सदस्य एलपी सावाँ लिम्बुको प्रमुख आतिथ्यतामा उद्घाटन हुनेछ।











