काठमाडौं । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तुलाराम लुइँटेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
नागरिकता लगायतका सरकारी कागजात सच्याइ सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ३२ गते दायर गरेको मुद्दामा विशेष अदालतले वडाध्यक्ष लुइँटेललाई आज दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशद्वय टेकेन्द्र कुँवर र रितेन्द्र थापाको संयुक्त इजलासले वडाध्यक्ष लुइँटेललाई भ्रष्टाचार निवारण ऐन २०६९ को दफा ९ र दफा १७ बमोजिम ९ महिना कैद र जरिवाना तोकेको छ ।
गलत लिखत तयार गरेकोमा दफा ९ बमोजिम १० हजार रुपैयाँ जरिवाना र ३ महिना कैदका साथै सार्वजनिक सम्पतिको हानि नोक्सानी गरेको कसुरमा सोही ऐनको दफा १७ को व्यवस्था बमोजिम थप १ लाख ६० हजार रुपैयाँ जरिवाना र थप ६ महिना कैद सजाय सुनाइएको हो ।
वडाध्यक्ष लुइँटेलले २०७५ सालको पहिलो कार्यकालमा श्रीमती भक्तकुमारीको नागरिकता प्रतिलिपिको विवरण किर्ते गरी सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण गरेको ठहर विशेष अदालतले गरेको छ ।










