काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन भएका छन् ।
उपाध्यक्षका आकांक्षित अर्का उम्मेदवार घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि पाण्डे वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

स्रोतका अनुसार अझै एक घण्टा समय बाँकी रहेकाले अन्य पदका केही उम्मेदवारहरूबीच पनि उम्मेदवारी फिर्ता लिनेबारे छलफल भइरहेको जनाइएको छ ।
पार्टीमा २१ सदस्यीय पदाधिकारीको व्यवस्था छ, तर हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन् ।
आजै सबै पदका लागि निर्वाचन हुँदै छ भने १०५ पोलिटब्युरो सदस्य पनि आजै चुनिनेछन् ।
वरिष्ठ उपाध्यक्ष चयन भइसकेपछि अब ६ उपाध्यक्ष, चार उपमहासचिव र ७ सचिव र पोलिटब्युरो सदस्य चयन गरिने छ ।
उक्त पार्टीमा ३ सय ४४ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । केन्द्रीय समिति सदस्यहरूले पदाधिकारी र पोलिटब्यूरो चयन गर्न लागेका हुन् ।
अन्य पदका लागि आजै दिउँसो २ बजेदेखि मतदान शुरु गर्ने तयारी भइरहेको जनाइएको छ ।










