काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन्।
संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ बिहान ११ बजे बस्ने बैठकबाट प्रधानमन्त्री दाहालले विश्वासको मत ल्याउने तयारी छ।

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रश्ताव पेश गर्ने र उक्त प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
सरकारमा रहेको प्रमुख राजनीतिक दल नेकपा एमालेले सरकारबाट बाहिरँदै दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले पुन:विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएको हो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
यता, एमालेले भने माओवादीसँगको सत्ता साझेदारी तोडेर नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठन र त्यसको नेतृत्व गर्ने तयारी थालेको छ। सो बमोजिम कांग्रेस-एमालेबीच आलोपालोले सरकार चलाउने सहमति समेत भएको छ। सहमति बमोजिम पहिलो चरणमा पूर्वप्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने तयारीमा छन्।
प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने मौका भने कम रहेको छ। सरकारका दुई ठूला दल एमाले-कांग्रेसले दाहाललाई विश्वासको मत नदिन ह्विप जारी गरेका छन्। अशोक राई नेतृत्वको जसपाले पनि सहरकारलाई दिएको सहमति फिर्ता लिएको छ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत आवश्यक पर्दछ। जसमा हालसम्म प्रधानमन्त्री दाहालसँग माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को २१ र नेकपा एकीकृत समाजवादीको १० गरी जम्मा ६३ मत छ।










