कृष्ण कुँवर , अबुधाबी । युएई स्थित् नेपाली दूतावास अबुधाबीका राजदूत तेज बहादुर क्षेत्रीले “गाउँ आएको बाटो” चलचित्रले आफुलाई भावुक बनाएको बताए।
अबुधाबी स्थित अल्वादा मलमा रहेको स्टार सिनेमा हलमा ग्रेंड प्रीमियर शो सकिएपछि राजदूत क्षेत्रीले भनें- आफु गाउँमानै भएको अनुभूति भयो, मपनी गुल्मीको दुर्गम् गाउँमा हुर्केको, दूई घण्टा हिंडेर स्कूल् पढेको हुँ। त्यस्तै परिवेशमा भोगेका कुराहरु सिनेमामा देखाईएको रैछ। हाम्रो संस्कृति र मातृभूमिलाई नबीर्सौ भन्ने सन्देश चलचित्रले दिएको छ। नबिन सुब्बाले मौलिक परिबेश बुझेर चलचित्र बनाउने गर्छन्। देशमा गरिबी छ, जन्मे हुर्केको गाउँलाई सहयोग गरौं, योगदान दिउँ। हामीले हाम्रो छोराछोरी गाउँ छिमेकलाई सम्झेर बचत गर्नेगरौं।

दूतावासका उपनियोग प्रमुख विशाल भट्टराईले चलचित्र हेरेपछि बिकाशले मान्छेलाई कसरी विस्थापित गर्छ भन्ने कुरा हेर्यौं। एकातिर गाउँमा सडक पुगे, अर्कोतिर गाउँका पुस्तेनी पेशा विस्थापित हुँदैछन्। रैथाने संस्कृति परम्परालाई जोगाउनपर्छ। भट्टराईले भनें- मौलिक परिबेशमा बनेको चलचित्रमा रोमान्टिक् नभई रियालिटी छ। यस्ता चलचित्रले बिश्वका चलचित्रसङ्ग प्रतिस्पर्धा गर्नसक्ने बताए।
श्रम काउन्सिलर दीनबन्धु सुबेदीले भनें- आफू गाउँकै परिवेशमा हुर्केको, चलचित्र हेरेपछि बाबुलाई मैँ टि.भी. किनेर दिउँ झैँ लाग्यो, चलचित्रमा बस को पछाडी टाँसिएको कागजमा बुबालाई खोजिरहेको छोराले “नो नींड् पापा टीभी, कम् भेरी सुन्” मलाई टीभी चाहिन्न, छिट्टो फर्केर आउ शब्दले मुटुमा छोएको बताए। सुबेदिले भनें-चलचित्रले आफ्नो, संस्कृति समाज र परिबेशलाई जस्ताको त्यस्तै देखाएको छ।
ग्रेंड प्रिमियरमा शोको अंत्यमा चलचित्रकर्मी रमेश ढकाल, हरि डाँगीको समूहले सबैलाई सर्प्राइजको रुपमा “गाउँ आएको बाटो” चलचित्रको प्रमुख पात्रको भूमिकामा रहेका बालकलाकार प्रसान राईकी आमा गङ्गा कुरुम्बाङ्गलाई देखाएका थिए। गङ्गालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। प्रसान की आमा गङ्गा युएई अबुधाबीमा काम् गर्छिन्। गाउँ आएको बाटोको ग्रेन्ड प्रिमियर शो पछि देखिएकी गङ्गा भावुक हुँदै भन्छिन्- छोराको अभिनय राम्रो लाग्यो। चलचित्रमा उस्को बुबालाई पर्खेर बसेको देख्दा मलाईनै कुरेर बसेको जस्तो लाग्यो। छोराले प्रगती गर्दै गएको छ नेपाल फर्कन्छु।
मध्यपूर्ब हेर्ने चलचित्रकर्मी रमेश ढकालले “गाउँ आएको बाटो” चलचित्र अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा उत्कृष्ट भएको र अहिले युएईको अबुधाबी, दुबई सारजाह, आजमान लगाएत कतार, बहराईनमा सबै शो फूल हुनेगरेको बताए।
चलचित्र हेरेपछि सबैजना भावुक भएका थिए। “गाउँ आएको बाटो” चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रसान राईको सशक्त भूमिका छ। नबिन सुब्बाले मौलिक परिबेशमा बनाएको चलचित्र गुणस्तरिय रहेको छ। नेपाली परिबेशका गाउँहरुमा मोटर बाटोहरु त पुगे तर शिप र कला भएका गाउँलेहरु कसरी विस्थापित हुन्छन्? एउटा गरीब परिवारलाई बाँच्न कती धेरै संघर्ष गर्नुपर्छ? बच्चाको टीभी हेर्ने रहर, बुबाआमाले टीभी किन्न नसकेको अबस्था र जे-जति दु:ख गर्दापनी नभएपछि गाउँ छोड्न बाध्य भएका राईमाईला र माईलीको बियोगान्त दृश्य चलचित्रमा देखाईएको छ।










