काठमाण्डौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रवार राति गएको शक्तिशाली भूकम्पका कारण प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःनिर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ।
आज शनिवार संघका अध्यक्ष डा बद्री केसी र महासचिव गौरीराज जोशीले एक विज्ञप्ति जारी गरी संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिनुभयो ।

यसैगरी संघले यस कठिन परिस्थितिमा सरकारसँग सहकार्य गर्न तत्पर रहेको जनाउँदै विदेशमा रहेका गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्लाई मातृभूमिमा परेको पीडामा मल्हम लगाउन यथासक्य छिटो उद्धार तथा राहतका लागि आर्थिक तथा भौतिक सहयोगमा जुट्न आग्रह समेत गरेको छ ।
एनआरएनएले भूकम्पले ठूलो क्षति भएकामा अत्यन्त मर्माहत रहेको जनाउँदै ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र उपचार र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।










