काठमाडौँ । एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ । गत वर्ष प्रतिकेजी ४५० रुपैयाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा ८ सय रुपैयाँले बढेर हाल बजारमा १ हजार २ सय ५० देखि १ हजार ४ सय रुपैयाँको हाराहारीमा पुगेको छ ।
“भारत वा विश्वबजारमा जिराको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्ने नै हो किनभने हामीकहाँ यसको खेती छैन,” उनले भने, “नेपालमा उपभोग हुने जिराको कुल परिमाणमध्ये झन्डै ९० प्रतिशत भारत र आठ प्रतिशत टर्कीबाट आयात हुन्छ, बाँकी दुई प्रतिशत कतार र बेल्जियमबाट आयात हुन्छ ।” जिरामा नेपाल भारतमाथि निर्भर भएकाले भारतमा जिराको मूल्य उतारचढाव हुँदा त्यसको प्रत्यक्ष असर नेपालीको भान्छामा पर्ने उनको भनाइ छ ।

स्वादका लागि मसलाका रूपमा प्रयोग गरिने जिराको मूल्य बढ्दा उपभोक्ताको भान्छा महँगो हुँदै गएको छ । अन्य समयको तुलनामा चाडपर्वका बेला खपत पनि धेरै हुने गर्दछ । भारतमा उत्पादन कम हुँदा मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ ।
हाल बजार माग धान्न चीनबाट समेत जिरा आउन थालेको व्यवसायीको भनाइ छ । टर्की र इरानबाट समेत जिरा आउने गरेको छ । जिरा उत्पादनमा भारत पहिलो मुलुक हो, विश्वबजारमा जिराको मूल्य अत्यधिक बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको छ ।
व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा विभिन्न मुलुकबाट नेपालमा ४८ करोड ५६ लाख ५० हजार रुपैयाँ बराबरको जिरा आयात भएको छ । मुलुकमा जिरा उत्पादन गर्न सक्ने सम्भावना भए पनि स्थानीय उत्पादन नहुँदा आयातमै भर पर्नु परेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।










