नेपालगन्जस्थित भेरी अस्पताल परिसरमा गत आठ महिनादेखि ‘अन्जनी माता रसोई’ले प्रति छाक २० रुपैयाँमा मानिसहरूलाई खाना खुवाउँदै आएको छ।
कोभिड महामारीबीच बिरामी र कुरुवालाई लक्षित गरी नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा ‘सुन्दर काण्ड मित्रमण्डल’ले सञ्चालन गरेको अन्जनी माता रसोईमा दैनिक ७०० भन्दा बढीले खाना खाने गरेको बताइन्छ।

कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण सबैजसो होटेल तथा रेस्टुराँहरू बन्द रहेको अवस्थामा अस्पताल परिसरभित्रै सुलभ दरमा खाना खान पाउँदा बिरामी कुरुवाहरूले खुसी व्यक्त गरेका छन्।
कुरुवा खुसी
दैलेखको महाबु गाउँपालिका-१ खरिगैराका गौतम साउदले सङ्क्रमित आफ्ना दाजुको भेरी अस्पताल नेपालगन्जमा उपचार गराइ रहेका छन्।
बिरामी दाजुलाई दैलेखबाट सुर्खेत हुँदै जेठ ५ गते नेपालगन्जको भेरी अस्पतालमा रेफर गरेपछि उनलाई खानाको चिन्ता थियो।
तर अस्पताल परिसरमै २० रुपैयाँमा खाना खान पाउँदा उनी खुसी छन्।
आफूसँगै बिरामी दाजुलाई पनि अन्जनी माता रसोईबाट खाना खुवाउने गरेको उनले बताए।










