भक्तपुर। भक्तपुरकाे सूर्यविनायक नगरपालिकाले स्थानीय तहमै पहिलो पटक लम्पी स्किन पीडीत किसानहरुलाई क्षतिर्पूित स्वस्प अनुदान वितरण गरेको छ । नगरभित्र लम्पी स्कीन महामारीमा गाई मरेर क्षति ब्यहोरेका किसानलाई क्षतिपूर्तिस्वस्प अनुदान सहयोग गरिएको हो ।
नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख बासुदेव थापाले अनुदान वितरण गरेकाे हो । नगरपालिकाले शुक्रबार र आइतबार १, ३, ५, ६, ८, ९ र १० वडाका किसानलाई राहत वितरण गरेको छ । बाँकि २, ४ र ७ वडाका किसानलाई सोमबार राहत वितरण गर्ने कार्यक्रम छ ।

नगरपालिकाको १० वटै वडाबाट लम्पी स्कीन रोगका कारण के कति क्षति भयो र के कति गाई मरे भनेर लगत संकलन गरेको थियो । लगत संकलनमा दुहुनो, ब्याउने र बाछी गरि ३१६ वटा गाई मरेको पाइएको थियो ।

नगरपालिकाको कार्यपालिका बैठकले मरेको दुहुनो गाई बरावर १० हजार र ब्याउने र बाछी बराबर ७ हजारको दरले राहत दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजीम नगरपालिकाले २४७ जना किसानलाई २७ लाख ५२ हजार रुपैयाँ बराबरको अनुदान वितरण गरेको हो । अनुदान वितरण कार्यक्रममा नगर कार्यपालिका सदस्य कमला पोख्रेल पनि सहभागि थिए ।

त्यसअघि पहिलो दिनको कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, वडा नंं ६ का वडाध्यक्ष ईश्वर खडका, ९ का वडाध्यक्ष भगवान खत्री, १० का वडाध्यक्ष शिवराम रावत र कार्यपालिका सदस्य शर्मीला बस्नेतलगायत सहभागि थिए ।










