काठमाडौं। नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश अध्यक्ष तथा पोलिटब्यूरो सदस्य बलदेव चौधरीविरुद्ध भ्रष्टचारको मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, नगरपालिकाका तत्कालीन राजश्व शाखा प्रमुख गुरूप्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौंडाका प्रोपाइटर तथा ठेकेदार राजेश्वर बछारविरूद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

चौधरीसहितको टोलीले ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा अनुचित कार्यगरी मिलेमतोमा बदनियतपूर्वक राजस्व हानिनोक्सानी गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्य गरेको पुष्ठि भएपछि आज अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा त्रियुगा नगरको मेयरमा निर्वाचित भएका थिए । २०७८ सालको भदौमा एमालेबाट विभाजन भएर नेकपा एस गठन गरेपछि उनी माधव नेपालसँगै एसमा गएर कोशी प्रदेशको अध्यक्ष बनेका थिए ।










