काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशन माघमा गर्न प्रस्ताव गरेका छन्।
कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी सचिवालय बैठकमा बिहीबार सदस्यहरूले उठाएको प्रश्नमाथि जवाफ दिँदै अध्यक्ष नेपालले माघमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।

कसैले फागुन २१ गते महाधिवेशन गर्नुपर्ने, कसैले मंसिरमै गर्नुपर्ने भने पनि अध्यक्ष नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
२०७८ भदौमा एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको हो। जारी सचिवालय बैठकमा आगामी निर्वाचन एक्लै लड्नुपर्ने धारणा सदस्यहरूले राखेको थिए।
शुक्रबारदेखि सुरू भएको बैठक एक सातापछि भोलि सकिने कार्यसूची छ।










