खाेटाङ। राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङले दिक्तेल रुपाकोट मझुवगढी नगरपालिका -३ बाम्राङमा दोश्रो वडा समिति गठन गरेको छ । भेलाले भानुभक्त खत्री (रोशन) को संयोजकत्वमा ११ सदस्य समिति गठन गरेको हो । समितिको सह-संयोजकमा आस्विन राई (किरण), सचिवमा मीना आचार्य पाण्डे, सह-सचिवमा कुमार थापा, कोषाध्यक्षमा दुर्गा रम्तेल, सदस्यहरुमा कल्पना बस्नेत, शिव दाहाल, सन्दीप दाहाल, नबिन थापा, ज्ञान बहादुर दाहाल, सबिन राई रहेका छन् ।
भेलाको अध्यक्षता गरेका निर्वाचन क्षेत्र समिति सदस्य मुकुन्द कृष्ण थापाले जिल्लामा पार्टीबाट भइरहेका र हुने गतिविधिहरुको बारेमा जानकारी गराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी अन्य पार्टीहरु भन्दा के कसरी फरक छ भन्ने कुरा स्पष्ट पारेका थिए । तदर्थ जिल्ला समितिका कोषाध्यक्ष पर्शुराम थापा (आशिष) ले मानो खाएर मुरी उब्जाउने किसानहरुको यो ब्यस्त समयमा पनि भएको आजको उत्साहजनक उपस्थिति ट्रेलर मात्रै भएको बताउँदै फिलिम छिट्टै सुरु हुने बताए ।

सचीव किशोर आचार्यले अब घण्टीले भ्रष्टाचारीहरुको मुटुमा ढ्याङ्रो बजाउने बिचार व्यक्त गरे । प्रदेश समितीको गुनासो ब्यवस्थापन बिभागका प्रस्तावित सदस्य बिजय मिश्रले वडा र पालिका समिती बिधान अनुसार ११ जना भन्दा बढी नहुने भएकोले गाउँ/टोल कमिटी बनाएर सबै घण्टी प्रेमीहरुलाई समेटिने बताए ।
वडा नं. ५ का संयोजक सोनाम हाङ राईले पुराना पार्टीहरुबाट परिबर्तन असम्भव भएकोले रास्वपाको जन्म भएको बिचार व्यक्त गरे । नव गठित समितीका एघार जनासहित सहभागी सबैले आ-आफ्नो परिचय दिँदै आफ्नो गाउँमा पनि रास्वपाको संगठन बनेकोमा खुशी र गौरवको महशुस भएको बिचार व्यक्त गरेका थिए । दिक्तेल रुपाकोट मझुवगढी नगरपालिका -५ लफ्याङबाट वडा समिती गठनको कार्य शुभारम्भ गरेको राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङले अब केही महिना भित्रै जिल्लाका ७९ वटै वडामा तदर्थ समिति गठन गर्ने बताएको छ ।










