काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा : तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्री माृहन बहादुर बस्नेतकाे राजीनामा मागेकी छन् । सांसद कार्कीले मंगलबार राति सामाजिक सञ्जालमार्फत मन्त्री बस्नेतको राजीनामा मागेकी हुन् ।
स्वास्थ्य मन्त्री बस्नेतले सरुवा गरेको ठाउँमा जान्न भन्दै आत्महत्या गर्ने धम्की दिने कर्मचारीलाई डोरी दिन्छु, मेरै गेटमा झुन्डिन आउनु भन्ने विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनको राजीनामा मागेको सांसद कार्कीले उल्लेख गरेकी छन् ।

मन्त्री बस्नेतको अभिव्यक्ति जस्ताको त्यस्तै
स्वास्थ्यमा सरुवा गराउन कोही तागत लगाएर आउँछन्। कोही आत्महत्या गर्छु भन्दै आउँछन्। केही मान्छेको सरुवा गरे तर केही मान्छे यही हुनुपर्छ नभए आत्महत्या गर्छु भनेर आएछन्। सचिवज्यूहरू यही दायाँ बायाँ हुनुहुन्छ। एउटा आएर म यही आत्महत्या गर्छु भनेछ। सचिवज्यूहरू त्यस्तो घटना घटिहाल्लाकी, भटाभट आत्महत्या गरिरहेका छन्, डराउनुभएछ अनि म कहाँ आउनुभयो। झन उहाँ सचिव देवकुमारी गुरागाईंको त कमलो मन। लौन केही गर्नुपर्यो आत्महत्या गर्छु भन्छ भन्नुभयो। मैले त कुरा बुझेको छु। उसो भए डोरी लगेर दिनुहोस्, सचिवज्यूकोमा झुण्डिन मन लागेन भने मन्त्रीको गेटमा गएर झुण्डिन भन्दिनुस् भन्दिएँ। त्यसो भनेपछि उहाँ जुरुक्क उठेर हिँड्नुभयो। यहाँ दंग्याउने, घुर्क्याउने धेरै हुन्छन्।










